सरकारले भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने उद्देश्यसहित तयारी तीव्र पारिरहेको दाबी गरिरहेका बेला नेपाल पर्यटन बोर्डका सीईओ दीपक जोशीले नेपालको विद्यमान क्षमतामा सुधार नगरे त्यो उद्देश्य पूरा नहुने निष्कर्ष निकालेका छन्।
पर्यटन प्रर्वद्धनमा प्रशस्त काम भएपनि भौतिक पूर्वाधारको विकास र नेपालसँग हवाई सेवाको कनेक्टिभिटी बढाउन सफल नभए भ्रमण वर्ष २०२० मा १४/१५ लाख मात्रै पर्यटन भित्रिने जोशीको ठहर छ।
खासगरी सरकारको घोषणाअनुसार लुम्बिनी विमानस्थलको निर्माणकार्य नसकिएमा र अन्य पर्यटकीय स्थल पुग्ने सडक विस्तार र त्यसको सुधार तथा सुरक्षाको ग्यारेन्टी नभएमा पर्यटकको संख्या र उनीहरुको बसाई लम्बाउन चुनौति हुने उनको भनाई छ।
पर्यटन वर्ष २०२० सफल पार्न सरकारले लामो र कडा महेनेत अझै गर्न आवश्यक रहेको र त्यसअनुसार आफूहरुले सम्बन्धित निकायलाई सुझाव दिइरहेको बताएका उनले अव संवदनशिल भएर आन्तरिक गृहकार्य गर्न जरुरी रहेको बताएका छन्।
जोशीले मुलकका खासखास क्षेत्रलाई मात्रै पर्यटकीय क्षेत्र घोषणा गर्न आवश्यक भएपनि स्थानीय तहमा आआफ्नै तरिकाले एउटा टावर बनाएर तारबार गरी पर्यटकीय स्थलको घोषणा गर्नुले कुनै उपलब्धी हाँसिल नहुने बताएका छन्।