रुपन्देही–राजनीतिक खिचातानीका कारण रुपन्देहीको राममणि बहुमुखी क्याम्पसको व्यवस्थापनमा समस्या देखिएको छ । सञ्चालक समितिका सदस्यहरुको राजिनामा र विद्यार्थी संगठनको तालाबन्दीपछि क्याम्पसको व्यवस्थापन भद्रगोल देखिएको हो ।
क्याम्पस सुधारको माग राख्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले जेठ ३० गते लगाएको ताला बिहीबार खुलेपनि क्याम्पसको व्यवस्थापनमा देखिएको कमजोरी भने सुधार हुन समय लाग्ने देखिएको छ । नेविसंघले क्याम्पसमा तोडफोडसहित तालाबन्दी गरेको थियो ।
त्यसअघि विभिन्न २१ बुँदे माग गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले ताला लगाएको थियो । अनेरास्ववियुले लगाएको ताला खुलेपछि नेविंघले तालाबन्दी गरेको हो ।
वृद्धि गरिएको भर्ना र मासिक शुल्क फिर्ता गरी नयाँ शुल्क निर्धारण गर्न, भवन निर्माणको टेन्डर अन्तिम समयमा रद्द गरिएकाले तत्काल निर्माण कार्य अगाडि बढाउन, ई–लाइब्रेरीको समुचित व्यवस्थापन गरी प्रभावकारी बनाउनुपर्ने, शौचालय र पिउने पानीको उचित व्यवस्था हुनुपर्ने माग राखेर दुवै संगठनले ताला लगाका थिए ।
माग पुरा गर्ने सहमतिपछि बिहीबार दिउँसो ताला खोलिएको नेविसंघका सभापति चिरञ्जिवी बस्यालले जानकारी दिए । पटकपटक विद्यार्थीका आन्दोलन र व्यवस्थापन समितिका सदस्यहरु बिचको बिवादले क्याम्पसको शैक्षिक अवस्थालाई समेत प्रभावित पार्ने दखिको छ ।
क्याम्पस सञ्चालनमा एकलौटी ढंगले अघि बढ्न खोजेको भन्दै चारजना सञ्चालक समिति सदस्यले गत फागुन ८ गते एकैपटक सामूहिक राजीनामा दिएपछि व्यवस्थापनमा झन समस्या देखिएको हो । क्याम्पसलाई साझा संस्थाको रुपमा लैजाने माग पटकपटक उठेपनि व्यवस्थापन समितिका अध्यक्ष रोमणीप्रसाद पाठक एकलौटी ढंगले अघि बढ्न खोजेको सञ्चालक समितिका सदस्यको आरोप छ ।
क्याम्पस सञ्चालक समिति बनाउँदा योग्यता, क्षमता र सामाजिक व्यक्तिको सट्टा राजनीतिकरण गर्न खोजेको, सहमति विपरित वरिष्ठ प्राध्यापकलाई उपेक्षा गरी कनिष्ठ व्यक्तिलाई क्याम्पस प्रमुख बनाइएको र अन्य प्रशासनिक काम कारबाही पनि एकलौटी ढंगले चलाउन खोजेको भन्दै उनीहरुले सामूहिक राजीनामा दिएका थिए ।
क्याम्पसका सञ्चालकहरु गोपाल भट्टराई, यज्ञ गैरे, नारायण रेग्मी र मिनाक्षी न्यौपानेले राजिनामा दिएको लामो समयसम्म पनि व्यवस्थापनमा देखिएको समस्या हल भएको छैन । मंसिर ७ गतेको क्याम्पस सभाले रोमणीप्रसाद पाठकलाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको थियो । पूर्व सहमतिअनुसार पाठकलाई सञ्चालक समिति अध्यक्ष बनाइएको तर अध्यक्ष बनिसकेपछि सहमति विपरित अघि बढेकाले राजीनामा दिएकोे उनीहरुको भनाइ छ ।
सञ्चालक समितिबाट राजीनामा दिएका सञ्चालक समिति सदस्य गैरेले क्याम्पस प्रमुख मोहन शर्माले राजीनामा दिएपछि वरिष्ठता र अनुभवका आधारमा डा. खगराज शर्मालाई क्याम्पस प्रमुख बनाउने सहमति भइसकेपनि ताराप्रसाद पराजुलीलाई बनाएपछि समस्या आएको बताए । “क्याम्पसका हरेक निर्णय विधि र प्रक्रियाअनुसार गर्नुपर्नेमा अध्यक्ष राजनीतिक ढंगले अघि बढ्नुभयो । सहमतिलाई लत्याएर जुनियर व्यक्तिलाई क्याम्पस प्रमुख नियुक्ती गरियो त्यसमा हाम्रो असहमती छ”, उनले भने ।
क्याम्पसलाई राजनीतिबाट मुक्त नगर्दासम्म व्यवस्थापनमा सुधार नहुने उनको दाबी छ । क्याम्पसलाई अहिलेको अवस्थासम्म ल्याउन सबैको महत्वपुर्ण योगदान छ तर अध्यक्षले राजनीतिक रंग दिएपछि धेरै समस्या सिर्जना भएको सञ्चालक समितिका सदस्यहरुको भनाइ छ ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष पाठकले भने सहमतिका लागि पटकपटक छलफलमा बोलाउँदा नआएकाले विवाद समाधान हुन नसकेको बताए । “उहाँहरुले सार्वजनिक रुपमा मात्रै राजीनामाको कुरा गर्नुभएको छ । लिखितरुपमा अहिलेसम्म क्याम्पसमा राजीनामा आएको छैन”,–उनले भने–“वार्ता र सहमतिबाटै टुङ्गो लगाउँछौँ ।”
अध्यक्ष पाठकले अध्यक्षले नै पदपूर्ति गर्न मिल्ने विधानमा व्यवस्था रहेपनि नयाँ व्यक्ति थपेर व्यवस्थापन समिति बनाउने भन्दा सहमति गरी पहिलेका सदस्यलाई नै राखिने बताए ।
क्याम्पसका काम कारबाहीबाट विद्यार्थीहरु पनि सन्तुष्ट छैनन् । व्यवस्थापनमा सुधार र शैक्षिक स्तर वृद्धिको माग गर्दै क्याम्पसमा गठन गरिएका विद्यार्थी संगठनले पटकपटक आन्दोलन गर्दै आएका छन् । क्याम्पस प्रशासनले निष्पक्ष ढंगले काम नगर्दा पटकपटक आन्दोलन गर्नुपरेको अनेरास्ववियुका अध्यक्ष योगेश पराजुलीले बताए ।
पछिल्लो समय क्याम्पसको व्यवस्थापनमा देखिएको विवादको असर कर्मचारीमा पनि परेको छ । “सबै मिलेर जाने हो भने क्याम्पसको प्रशासनिक र शैक्षिक स्तर राम्रो हुन्छ नत्र घाटा क्याम्सलाई नै हो”,–लेखाअधिकृत उमेशकुमार शाहीले भने ।
बि.स. २०४५ सालमा स्थापना भएको यो साम्दायिक क्याम्पसमा स्नातकोत्तर तहमा सेमेष्टर प्रणालीबाट व्यवस्थापनतर्फ एमबिएस, चार वर्षे बिबिएस, मानविकी तथा सामाजिकशास्त्रतर्फ समाजशास्त्र र मानवशास्त्रमा एम ए, बिए, शिक्षाशास्त्रतर्फ चार वर्षे र एक वर्षे विएड कक्षा सञ्चालन हुँदै आएको लेखाअधिकृत शाहीले जानकारी दिए । उनका अनुसार क्याम्पसमा एक हजार सात सय विद्यार्थी अध्ययनरत रहेका छन् भने ६० जना प्राध्यापकले अध्यापन गराउँदै आएका छन् ।