बुटवल । बुटवलको कालिका मावि अहिले चर्चाको शिखरमा छ । सामुदायिक विद्यालयमा उत्कृष्ट हुँदै आएको कालिका उच्च शिक्षातर्फ पनि अब्बल सावित हुँदै शिखरमा पुगेको हो ।
रुपन्देहीको बुटवल–१० कालिकानगरमा अवस्थित कालिका मानव ज्ञान माध्यमिक विद्यालयका रुपमा शैक्षिक यात्रा थालेको कालिका अहिले बुटवल कालिका क्याम्पसका रुपमा पनि उत्कृष्ट बन्ने होडमा छ । बुटवल –१० रामनगरमा कक्षा १२ उत्तिर्ण गरेका विद्यार्थीलाई स्नातक तहका शैक्षिक कार्यक्रममा क्याम्पसले सफलता हात पारेको छ ।
२०७० सालमा बिबिएस कार्यक्रमको सम्बन्धन लिएर पठनपाठन शुरु गरेको बुटवल कालिका क्याम्पसले अहिले नवौ वार्षिकोत्सव मनाइरहेको छ ।
यस क्याम्पसले करिब ५ वर्षको अन्तरालमा ब्याचलर अफ कम्प्युटर एप्लीकेसन (बिसीए) कार्यक्रमको सम्बन्धन प्राप्त गर्यो । अब बिएड कार्यक्रम स्विकृतीका लागि प्रक्रिया पूरा गरिसकेको क्याम्पस प्रमुख घनश्याम पाठक बताउनुहुन्छ । ३५ जना विद्यार्थीबाट शुरुआत भएको संस्थामा अहिले दुई हजार आठ सय ३८ विद्यार्थी संख्या पुगेको छ ।
सर्वसुलभ शुल्क तिरेर उत्कृष्ट शैक्षिक संस्थामा उच्च शिक्षा हासिल गर्न पाउने भएपछि विद्यार्थीको चाप समेत बढ्दै गएको प्रमुख पाठक बताउनुहुन्छ । विद्यालयको राम्रो व्यवस्थापन, दक्ष शिक्षकबाट सैद्धान्तिक तथा प्रयोगात्मक शिक्षण सिकाइका कारण बिसीएतर्फ क्याम्पसले पहिलो ब्याचदेखि नै शतप्रतिशत नतिजा हासिल गर्न सफल भएको उहाँको भनाइ छ ।
यस शैक्षिक संस्थामा लुम्बिनी प्रदेश बाहेक अन्य जिल्लाका विद्यार्थीहरु समेत अध्ययनका लागि आउने गरेका छन् ।
रुपन्देही–२ का प्रतिनिधिसभा सदस्य तथा तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेल हुँदा अर्थमन्त्रालयबाट विनियोजन भएको रु ६ करोड र क्याम्पसले संकलन गरेको अन्य बजेटबाट क्याम्पसको सुविधा सम्पन्न भवन बनेको प्रमुख पाठकको भनाइ छ ।
“क्याम्पसको जग्गा प्राप्ति र भवन निर्माण यस क्षेत्रका माननीय पुर्वअर्थमन्त्री विष्णु पौडेलको ठूलो सहयोग भयो, उहाँले शिलानयास गरेको क्याम्पस उहाँकै हातबाट उद्घाटन गर्दै छौँ ”, पाठकले भन्नुभयो ।
क्याम्पसको श्रीवृद्धिका लागि प्रदेश सरकारका तत्कालीन समाजिक विकास मन्त्री सुदर्शन बराल र शिक्षामन्त्री वसिउद्दिन खांको पनि सकारात्मक सहयोग भएको उहाँले बताउनुभयो ।
क्याम्पसले अब बीएससी सीएसआईटी, एमबीएस र एमबीए पढाउने तयारी गरेको छ । यसका अलावा क्याप्स छिटै क्यूएएमा जाने तयारीमा छ । कान्छो सामुदायिक क्याम्पस भएर पनि ९ वर्षमै २ पटक बिसिएमा शतप्रतिशत विद्यार्थी पास गराई नेपाल टप भएर गुणस्तरीय शिक्षामा उत्कृष्ट सावित भएकाले अब क्यूएए प्राप्त गर्ने विश्वास क्याम्पसका प्रध्यापक दामोदर घिमिरे बताउनुुहुन्छ ।
यस क्याम्पसले सैद्धान्तिक शिक्षा मात्र नभइ व्यवहारिक र प्रयोगात्मक शिक्षालाई प्राथमिकता दिएका कारण उत्तिर्ण विद्यार्थीहरु बेरोजगार बस्नु परेको छैन । कतिपय स्वरोजगार र उद्यमी बनेका छन् ।
बुटवल कालिका क्याम्पस छोटो समयमै जीवन उपयोगी र रोजगारमुलक उच्च शिक्षामा देशकै उत्कृष्ट शैक्षिक संस्था बनेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष अर्जुनमान सैजु बताउनुहुन्छ ।
हालसम्म ५० करोड बढी लगानी भइसकेको बुटवल कालिका क्याम्पसमा ५२ वटा कक्षा कोठा, ८ वटा प्रयोगशाला, एक हजार जना क्षमताको सभा हल, दुई वटा सेमिनार हल, गेष्ट हाउस र चमेना गृह सहितका पुर्वाधारहरु बनिसकेका छन् ।
यस क्याम्पसमा प्रदेशस्तरको पुस्तकालय तथा अनुसन्धान केन्द्र सञ्चालनमा आएपछि शोधकर्ताहरु काठमाडौँ धाउनुपर्ने वाध्यताको अन्त्य भएको छ । क्याम्पसमा बीबीएस, बीसीएतर्फ र बिएडतर्फ ६३ जना प्रध्यापक छन् र १२ जना कर्मचारी रहेका छन् ।