बुटवल । कवि लेखनाथ ज्ञवालीको तेह्रौ स्मृति दिवस तिलोत्तमाको शङकरनगर वनवाटिकामा भव्य रुपमा मनाइएको छ ।
कार्यक्रममा लेखनाथ ज्ञवालीको “आधुनिक भजन सङ्ग्रह“ र साहित्यकार लक्ष्मण ज्ञवालीको “कोरोना सवाई“ लघु काव्य विमोचन गरिएको थियो । कृतिको विमोचन प्रमुख अतिथि प्रा.डा. कपिल लामिछाने सहित विभन्नि साहित्यकारले सामुहिक रुपमा गर्नुभएको थियो ।
कार्यक्रममा कवि लेखनाथ स्मृति वाङ्मय पुरस्कार वरिष्ठ समालोचक बालकृष्ण भट्टराईलाई रु. १५ हजार नगद दोसल्लासहित प्रमाण पत्र र कुन्तादेवी प्रतिभा नारी साहित्य पुरस्कार ७ हजार नगद दोसल्लासहित प्रमाणपत्रका साथ साहित्यकार सरु सुधालाई प्रदान गरिएको थियो ।
सँस्थालाई योगदान पुराउने सल्लाहकार महाकवि मोदनाथ प्रश्रित, प्रेस सेनानी अर्जुन ज्ञवाली र नियात्राकार मदनलाल पौडेललाई अभिनन्दन गरिएको थियो ।
कार्यक्रममा गिरि श्रीस, प्रकाशलाल श्रेष्ठ, सोनु गुरुङ, दुर्गा पौडेल, तिलक लामिछाने, सरु ज्ञवाली,लक्ष्मी पोखरेल “कोकिला“, सिर्जना खनाल, सीता काफ्ले, राधा भट्टराई, कृष्ण पौडेल, रामबहादुर श्रेष्ठ, विष्णु ज्ञवालीलगायतले कविता वाचन गर्नु भएको थियो ।
कार्यक्रममा संस्कृतिविद उत्तरकुमार पराजुलीले “आधुनिक भजन सङ्ग्रह“ र वरिष्ठ साहित्यकार प्रा.डा. हिरण्य ज्ञवालीले “कोरोना सवाई“को समीक्षा गर्नु भएको थियो । लेखनाथ ज्ञवाली स्मृति प्रतिष्ठानका अध्यक्ष रम्भा ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा जङ्गबहादुर शाह, बुँद राना, ऋषिराम भुसाल, विजय सागर, वनमाली निराकार, छनोट समितिका अध्यक्ष राजेन्द्रकुमार आचार्य, मदनलाल पौडेललगायतले स्व लेखनाथ ज्ञवालीका बारेमा चर्चा गर्नुभएको थियो ।
लेखनाथ ज्ञवालीको व्यक्तित्व कृतित्वको वर्णन सन्तोष ज्ञवालीले गर्नुभएको थियो । कार्यक्रममा करिव १ सय स्रष्टाहरु भेला हुनुभएको थियो ।
कार्यक्रममा लक्ष्मण ज्ञवाली र सुशीला ज्ञवालीले स्वागत गीत प्रस्तुत गर्नुभएको थियो भने सञ्चालन वरिष्ठ साहित्यकार रुद्र ज्ञवालीले गर्नु भएको थियो ।