नेपालीय साहित्य जगतमा साहित्यकार ज्ञानबहादुर क्षेत्रीको उदय ‘अनुराग’ छेस्का कविता संग्रहबाट भएको हो । उनका अनेक फुटकर कविताहरु, लेखरचनाहरु विभिन्न पत्रपत्रिकाहरुमा धेरै पहिलादेखि प्रकाशित हुँदै आए पनि नेपालीय साहित्य भण्डारभित्र औपचारिक प्रविष्टि ‘अनुराग’ छेस्का कविता संग्रह २०७९ बाट भएको हो । उनी २०११ सालमा जन्मिएका हुन् । पिता बीरबहादुर क्षेत्री र आमा हिराकला क्षेत्रीको कोखबाट जन्मेका ज्ञानबहादुर क्षेत्रीको घर छत्रदेव— ६ अर्घाखाँची ठूलापोखरा भएको हो । हाल उनी सन्धिखर्क—२ अर्घाखाँची बस्छन् । उनी अर्थशास्त्रमा स्नातकोत्तर हुन् । उनले भारत र नेपालका विभिन्न क्याम्पस, स्कुलहरुमा चालीस वर्ष लामो प्राध्यापन सेवा गरेका छन् । उनको अध्ययन भारतमा नै भएको हो । हाल उनी पाणिनि क्याम्पस अर्घाखाँचीबाट सेवा निवृत भएका छन् ।
सेवा निवृत जीवनपछि उनी नेपालीय साहित्यतिर लागेका छन् । खासगरी कविताका लघुतम रुप मुक्तक, छेस्का, रम्बास, साइनो, हाइकू, बाछिटा, उदक, टुक्का कविता र लघु कथाहरुमा साधना गरिरहेका छन् र नित्य निरन्तर सौन्दर्यपूर्य काव्य छटाको माध्यमबाट काव्य जगतमा निखारताका साथ प्रकट हुन थालेका छन् । अर्घाखाँचीमा ज्ञानबहादुर क्षेत्रीको उदय विहानी सातबजेको सूर्यझै उघ्रेको छ ।
शान्त औ सौम्य र शालीन स्वभावका कारण ज्ञानबहादुर क्षेत्रीको पहिचान चहकिलो बनेको छ । मूल्य मान्यताप्रतिको निष्ठा, समर्पण र इमान्दारिताले उनलाई विश्वासपूर्ण व्यक्तिको रुपमा सबैले आदर गर्छन् । यो पटक लोक वार्ता परिषद्को अर्घाखाँची भेलामा उनले खेलेको भूमिका अत्यन्त प्रभावकारी रह्यो । त्यसरी नै उनी लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालका आजीवन सदस्य हुन् । पाणिनि क्याम्पसका आजीवन सदस्य, नेपाल रेडक्रस सोसाइटीका आजीवन सदस्य, बुद्धि रायमाझी स्मृति प्रतिष्ठानका आजीवन सदस्य हुन् । यस्ता अनेकौं संस्थाहरुबाट सामाजिक क्षेत्रमा उनी अब्बल अगुवा व्यक्ति बनेका छन् ।
कविताको सबैभन्दा सानो रुप नै लघुतम रुप हो । अनुभूतिको अप्रत्यासित एक झड्का नै यसको चिनारी हो । अनुभूतिको एक झिल्को, भावनाको मितव्ययी अभिव्यक्ति, संवेदनाको खिरिलो प्रस्तुति, खारिएको अभिव्यन्जना नै लघुतम कविताको विशेषता हो ।
नेपालीय साहित्यमा संरचनाका दृष्टिले लघुतम रुपका कविताहरु हाइकू, ताङका, मुक्तक, रुवाई, सायरी, दोहा, साइनो, खोरिया, उदक, झर, छेस्का आदि हुन् । पछिल्लोपटक भारतको आसामतिरबाट नेपालीय साहित्यमा आएको उपविधा रम्बास पनि कविताको लघुतम रुप हो ।
रम्बासका प्रवर्तक मिलन बोहोराले भनेझै हरेक कुराहरु परिवर्तनशील छन् । काव्य जगत पनि परिवर्तनशील छ । जड भएर एकै स्थानमा बस्नु हुँदैन । पारि क्षितीजसम्म हेर्नुपर्छ । सूत्र सिद्धान्त पनि बदलिन सक्छन् । धारणा पनि बदलिन सक्छन् । त्यस अनुसार हामी पनि बदलिनु पर्छ । बदलिनु नै जिन्दगी हो ।
यस कृतिको भूमिकामा अनुभूतिलाई अनन्त शुभकामना भन्दै गीता श्री शर्मा गान्तोक सिक्किम भन्छिन्—“नेपाली साहित्यमा आएको नयाँ आयाम शैली, बनावट र प्रस्तुति रम्बास कविता शुरुआत पनि नेपाली साहित्यको उर्बरभूमि आसामबाट नै भएको हो, पछि गएर विभिन्न ठाउँबाट रम्बासका थुपै्र कृतिहरु प्रकाशित भएका छन् । ज्ञानबहादुर क्षेत्रीको यो दशौं प्रकाशन हो । यसभन्दा अघि उहाँले ‘अनुराग’ छेस्का कविता संग्रह प्रकाशित गरिसक्नु भएको छ ।”
लुम्बिनी वाङमय प्रतिष्ठान अर्घाखाँची जिल्ला कार्य समितिका अध्यक्ष विष्णु प्रसाद बस्यालले रम्बास लेखन सिद्धान्तको पूर्ण परिपालन भएको यस कृतिले नेपाली वाङ्मयमा राम्रो स्थान बनाउन सफल भएकोले कृति प्रकाशन गर्ने अवसर हामीलाई दिनु भएकोमा कृतज्ञता प्रकट गर्दछौं भनेका छन् ।
रम्बासको ज्यामितीय संरचना हुुन्छ । यो रम्बसजस्तो हुन्छ । यो यो एक अक्षरबाट शुरु भएर दुई, तीन, चार पाँच छ, सात, आठ, नौ हुँदै उत्कर्षमा दश अक्षरीे पंक्तिपुञ्जसम्म पुग्छ । अनि दशबाट ओह्रालो लाग्दै फेरि नौ, आठ, सात, छ, पाँच, चार, तीन, दुई, एक अक्षरका पंक्तिहरुमा पुगेर विश्राम हुन्छ । यसमा उन्नाइस हरफ हुन्छन् । सबै गरेर एकसय अक्षर हुन्छन् । उदाहरणको लागि ः
लौ
आऊ
मिलेर
हामी दुबै
कसम खाउँ
धर्ती र आकास
साक्षी राखेर आज
छुट्टिने छैनौं कहिल्यै
हाम्रो साथ अटल रहोस्
डाह गर्नेहरु गर्दै रहून्
हाम्रो माया अमर रहोस्
नटुटोस कहिल्यै पनि
वाचा गरौै हामी
एक अर्कोलाई
बिर्सिने छैनौं
यो जुनीमा
कहिल्यै
माया
यो ।
‘रम्बास’ काव्य उपविधा भारतको आसामबाट शुरु भएको हो । यसका प्रवर्तक मिलन बोहोरा हुन् । त्यसपछिका दिनहरुमा नेपालीय साहित्यमा देवीचरण सेंढाईं, पुरुषोत्तम दाहाल, खडानन्द दुवाल, गीताश्री शर्मा, एलपी पराजुली, अर्जुन उप्रेती, शेषमणि आचार्य, शिवकुमार श्रेष्ठ, जगन्नाथ उपाध्याय, ओम आचार्य, ज्ञानबहादुर क्षेत्री, गुरुदत्त ज्ञवालीजस्ता साधकहरु एकएक गरी देखा परेका छन् । अहिले यो निकै लोकप्रिय विधा भएको छ ।
कविता जीवनको लागि हुनु पर्छ । अहिलेसम्म कविता कविताको लागि मात्र भएको छ । कविताको सन्देशलाई जीवनसँग जोड्न नसके समाज परिवर्तन हुँदैन । नेपालीय साहित्यमा कविहरु आज्ञा उपदेश दिने सन्देशबाहक मात्र भएका छन् । समाज बदल्न व्यवहारवादी हुनु पर्छ ।
नेपालमा कविहरु जे बोल्छन् व्यवहारमा ठीक उल्टो काम गर्छन् । उनीहरुमा कृतिमा क्रान्तिकारी देखिन्छन् भने व्यवहारमा यथास्थितिवादी । यसले साहित्य साहित्यको लागि भएको छ । कला कलाको लागि भएको छ । साहित्य र कलालाई जीवनसँग जोड्न कवि कलाकारहरुले आफ्ना रचनाहरुको सन्देश अनुसार आफ्नो जीवनशैलीमा देखाउनु पर्छ । यो नै व्यवहारवाद हो । कवि ज्ञानबहादुर क्षेत्री जीवनवादी कवि हुन् ।
साहित्यले हामीलाई जीवनवादी बनाउनु पर्छ । छुवाछुत र विभेद विरुद्ध निकै सुन्दर कविता लेख्ने र चित्र कोर्ने कवि कलाकारले छुवाछुत गर्नु हुँदैन । मानव अधिकारको विषयमा सुन्दर कविता लेख्ने र सुन्दर चित्र कोर्ने कलाकारले मानव अधिकार अनुसारको जीवनशैली बनाउनु पर्छ । मिटर ब्याजी विरुद्ध क्रान्तिकारी कविता लेख्ने कविहरुले व्यवहारमा पनि मिटरब्याजी विरुद्ध देखाउनु पर्छ ।
उपभोक्ताको अधिकारको पक्षमा लेख्ने कविहरुले उपभोक्ता सचेतना मात्र हैन, अभियान नै चलाउनु पर्छ । छाउपडी विरुद्ध लेख्ने कविले घरमा छाउपडी भएका छोरी बुहारीलाई सेफ्टी प्याड लगाएर सँगै एउटै टेबुलमा बसेर खाने हिम्मत गर्नुपर्छ । भ्रष्टाचारका कविता लेख्ने कविहरु भ्रष्ट बन्नु हुँदैन । शोषण विरुद्ध लेख्ने कविहरु शोषक बन्नु हुँदैन । कविता जीवनशैली बदल्ने हुनु पर्छ । जीवनको लागि हुनु पर्छ । तर कविता कविताका लागि भएको छ ।
वास्तवमा यो नै व्यवहारवादी स्रष्टा कर्म हो । नेपालीय साहित्यमा समाज परिवर्तन हुन नसक्नुको साहित्य साहित्यको लागि भएर हो । अब साहित्य जीवनको लागि लागि हुनु पर्छ । साहित्यले हाम्रो जीवनशैलीमा परिवर्तन ल्याउनु पर्छ । हजारौ कविहरु परिवर्तन भए समाज परिवर्तन हुन्छ । किनकि समाज परिवर्तन गराउने सशक्त पक्ष भनेकै स्रष्टा हो । स्रष्टाले संसारलाई जसरी रच्छ परिवर्तन पनि त्यसरी नै हुन्छ ।
यस कृतिमा ११० वटा सुन्दर र प्रभावकारी रम्बासहरु छन् । ती रम्बासहरु रम्बासको संरचना अनुसार नै रचना गरिएका छन् । लघु कविताहरुमा अनुभूतिको एक झिल्को हुन्छ । भावनाको मितव्ययी अभिव्यक्ति हुनु यस कविताको विशेषता हो । संवेदनाको खिरिलो प्रस्तुति हुन्छ । अनि खारिएको अभिव्यन्जना नै कविताको लघुतम रुप हो । यो कृतिमा प्रयुक्त रम्बासहरुमा यी विशेषताहरु यथेष्ठ पाइन्छन् । यस कृतिका १ सय १० रम्बासहरु पढ्दा यस्तो आभास हुन्छ । रम्बास कविता कृतिमा कवि ज्ञानबहादुर सफल देखिन्छन् । यो रम्बास कृति मुलुकभरमा प्रकाशनका दृष्टिले दशौं भए पनि गुणस्तर निर्धारणका दृष्टिले धेरै राम्रो छ ।
यसमा कविले भावनाको विस्तारको लागि विविध शीर्षकहरुमा खेलेका छन् । उनी राजनीतिका सुष्क मरुभूमिमा मात्र पैठेजोरी खेलेका छैनन् । जीवनका धेरै आयामहरुका धेरै विधाहरुमा फन्केर नाँचेका छन् । यहाँ वेदना, मायाप्रीति, प्रतिज्ञा, झरी, बेथिति, मृत्यु, घमण्ड, कुशेऔंसी, मोह, दशैं, चाह, तिहार, मोबाइल, छाडातन्त्र, बालकपन, वियोग, प्रेम, अनुभव, आशा, शिशु, पृथ्वीजयन्ती, रिस, सुपादेउराली, खुसी जाडोयाम, श्री स्वस्थानी, श्रद्धान्जली, राजनीति, स्वच्छन्दता, बन्दना, गरिवी, जुनी, समय, एम.सि.सी., झिक्रो, भ्रम, संकल्प, होली, हालत, युद्ध, ऐना, नववर्ष खोजी निर्वाचन, बुद्ध, शिक्षक, किंवदन्ती, लोकतन्त्र, मानव, जन्मदिन, कुर्सी, चुनौती, दरिद्रता, नागपञ्चमी, अन्याय, हामी अर्घाखाँची, तीज, घडी, मताधिकार, महाकवि, हबिगत, नेपाल, अहंकार, स्वार्थ, अनुभूति, व्यस्तता, विकृति, अस्तित्व, आँट, म, श्रीपञ्चमी, सत्यता, जीवन, मानवता, भिन्नता, विभेद, विवाह, सपना, गाली, भूकम्प, आँसु, सत्यता, वाचाबन्दन, आधुनिकता, कलियुग, प्रविधि, बसाइसराई, जिन्दगी, आव्हान, धोका, जिद्धि, ठूलापोखरा, ब्रह्माण्ड, सन्देश, चिन्ता वृद्धावस्था, युवा, भूईंमान्छे, अधोगति, सन्धिखर्क, खडेरी, श्री, पानी, भानुभक्त, रम्बास आदि अनेकौ शीर्षकहरुमा लेखिएका छन् ।
कवितामा मानवीय अन्तर वेदना, पीडाप्रद उच्छवास, मानवीय प्रेमील स्वभाव, मानवता, सामाजिक, साँस्कृतिक, राजनीतिक विकृति, विसंगति, सामाजिक बेथिति, संकल्प, अहंकार, मृत्यु, छाडातन्त्र, विछोड, संयोग, स्वच्छता, आशा, खुसी, युद्ध, दरिद्रता, अस्तित्वबोधको सन्दर्भमा निकै चोटिला चोपिला सन्दर्भहरु आएका छन् । हरेक सम्बासहरु सचेत छन् । कही कतै काव्य दोष भेटिदैन । कैयौं रम्बासहरु शाश्वत, सार्वजनीन र सार्वभौम खालका छन् ।
काव्य कौशलताको मूल्याङकनमा बिम्ब, प्रतीक अलङकारहरुको प्रयोग कस्तो छ भनिन्छ । उनका कवितामा बिम्बको प्रयोग छ । प्रतीकहरु यदाकदा आएका छन् । स्वाभाविक रुपमा अलंकारहरुको प्रयोग छ । यसले काव्य सौन्दर्य बढाएको छ । अनुप्रास प्रयोग भएको छ । यति भनिरहँदा उनका प्रायः कविताहरु सौन्दर्यका दृष्टिले अझै माझिन जरुरी छ । त्यो साधनाका क्रममा खारिदै जाला । अझ उन्नत सौन्दर्यपूर्ण रम्बासहरु आउलान् ।
एउटा रम्बासमा कविले मुलुुकको बेथितिप्रति औल्याउँदै भनेका छन् —
यो
कस्तो
अवस्था ?
अर्थतन्त्र
अधोगतिमा
युवा विदेशमा
बौद्धिक पलायन
सबै क्षेत्र अस्तव्यस्त
कमिशन र भ्रष्टाचार
कालो बजारी बढ्दो महँगी
बिचौलियाको बोलवाला
सुशासनको अभाव
व्यापक असन्तुष्टि
जनता निराश
नेता छन् दङ्ग
के हामीले
चाहेको
यस्तै
हो ?
अन्त्यमा कविताहरु सरल र सुबोध्य छन् । भाषा शुद्ध छ । थोरै शब्दमा विपुल भावराशि पस्कन सफल छन् । कृतिको आवरण पृष्ठ सुन्दर छ । कविको ज्ञानबहादुर क्षेत्रीको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।