टवल–दाङको देउखुरी क्षत्रेमा अन्तर्राष्टिय रंगशाला बनाउन भनेर प्रदेश ५ सरकारले २ आर्थिक वर्ष लगातार बजेट विनियोजन गर्यो । देउखुरी क्षेत्रको राप्ती गाउँपालिकामा बनाउने भनिएको रंगशालाको सम्भाव्यता अध्ययन र जग्गा संरक्षण भनेर चालु आर्थिक वर्ष २०६७/७७ मा ५० लाख र अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा ५० लाखका दरले एक करोड विनियोजन भएको थियो । तर आगामी आर्थिक वर्ष २०७७/७८ का लागि यो शिर्षक हटाइएको छ । बजेट विनियोजन नहुँदा राप्ती गाउँपालिकामा बनाउने भनिएको अन्तर्राष्ट्रिय रंगशालाको सम्भावना टरेको छ ।
जग्गा विवादका कारण रंगशाला निर्माणको सम्भावना टर्दै गएको सामाजिक विकास मन्त्रालयका युवा तथा खेलकुद महाशाखाका अधिकृत विष्णु पन्थीले बताए । ‘दुई स्थानिय तहको बीचमा जग्गा पर्ने र त्यसमाथि स्थानियले भोगचलन गरेका रहेछन् । हामीले तारबारको काम अघि बढाउँदा स्थानीयबाट अवरोध भयो–उनले भने–अब त्यो ठाउँमा रंगशाला बन्ने सम्भावना कम छ ।’
देउखुरीको रंगशालाको सट्टा अब दाङकै घोराहीमा रहेको नेत्रलाल अभागी रंगशाला र बुटवलको उजिरसिंह रंगशालालाई अन्तराष्ट्रिय स्तरको बनाएर अघि बढाउने पन्थीले जानकारी दिए ।
चालु आर्थिक वर्षमा यी दुई आयोजनालाई रंगशाला मात्र भनेर लेखिएको थियो । तर आगामी आर्थिक वर्षको बजेट बक्तव्यमा साफ स्तरीय रंगशाला भनेर उल्लेख गरिएको छ । साथै दाङको नेत्रलाल अभागी रंगशालालाई प्रदेश गौरवको आयोजनाको रुपमा समेत सुचित गरिएको छ ।
नेत्रलाल अभागी रंगशालालाई आगामी आर्थिक वर्षमा ७ करोड र बुटवलको उजिरसिंह रंगशालाको लागि ४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
उजिरसिंह र नेत्रलाल अभागी रंगशालाको लागि चालु आर्थिक वर्षमा पाँच–पाँच करोडका दरले बजेट विनियोजन गरिएको थियो । तर काम भने कत्ति पनि अघि बढेको छैन ।
अहिले रंगशाला निर्माणको लागि बुटवल र घोराही उपमहानगर मार्फत वातावरणीय प्रमाव मुल्यांकन इआइएको काम भइरहेको सामाजिक विकास मन्त्रालयको युवा तथा खेलकुद महासाखाले जनाएको छ । ‘डिपिआर तयार भइसकेको छ । अहिले दुवै उपमहानगर मार्फत रंगशालाहरुको इआइएको काम भइरहेको छ’–महाशाखाका शाखा अधिकृत विष्णु पन्थीले भने ।
बुटवल उपमहानगरपालिका शहरी पूर्वाधार विकास महाशाखाका प्रमुख सुमन श्रेष्ठले प्रदेशले इआइएको कानून नल्याएकाले काम अगािड नबढेको बताए । इआइएको लागि प्रदेश सरकारबाट प्राप्त १० लाख रुपैया र उपमहानगरकै ५ लाख रुपैया गरी १५ लाख रुपैयाँ विनियोजन भएको छ ।
बुटवलको जबइ मैदानमा बन्ने उजिरिसिंह रंगशाला निर्माणको लागि करिब ३७ करोड लाग्ने अनुमान गरिएको छ । चारै तर्फ प्याराफिट भएको रंगशाला १२ देखी २० हजार दर्शक अट्ने क्षमताको हुने गरी डिजाइन तयार गरिएको छ ।
रंगशाला प्रवेशका लागि चार वटा प्रवेशद्वार हुनेछ । रंगशालाको पश्चिम पट्टी जंगल जितेश्वरी सामुदायीक बन पर्दछ । बनको डाँडा र ढिक सहितको भएकाले त्यसैलाई मिलाएर प्याराफिट बनाउने गरी डिपिआर तयार गरिएको छ ।
रंगशालामा मुख्य गरेर फूटबल ग्राउण्ड हुन्छ । फूटबल ग्राउण्डको एरिया बाहिर एथलेटिक ट्याक हुन्छ । त्यसै गरी रंगशाला परिषरमा भलिबल, बास्केटबल, टेनिस कोर्ट, स्वीमिङ पूल लगायतका लगायतका संरचना पनि बन्ने छन् । रंगशाला बाहिर भिआइपी र सर्वसाधारणको लागि छुट्टा छुट्टै पार्किङ स्थल रहने छ ।
दाङको घोराहीमा बन्ने भनिएको नेत्रलाल अभागी रंगशालाको डिपिआरको काम पनि भएको छैन । ‘असारमा डिपिआर तयार भयो भने कस्तो खालको रंगशाला बन्ने भन्ने टुंगो लाग्ला । प्रदेशकै स्तरीय रंगशाला गराउने गरी नै काम अघि बढेको छ’–घोराही उपमहानगरका सिनियर डिभिजनल इन्जिनियर युवराज पौडेलले भने ।
पाँच नम्बर प्रदेश सरकारले खेलको विकास तथा पूर्वाधारको लागि यस वर्ष १२ करोड ५० लाख रुपैया विनियोजन गरेको छ । जसमा अन्य आयोजनाहरुमा मुख्यमन्त्री रनिङ सिल्ड प्रतियोगिताको लागि १ करोड ५० लाख, साझेदारीमा खेलकुद एकेडेमी सञ्चालनको लागि २५ लाख बजेट विनियोजन गरिएको छ ।
त्यसै गरी विभिन्न जिल्लाका लागि खेलकुद प्रशिक्षक प्रशिक्षण कार्यक्रम, साझेदारीमा विद्यालय खेलकुद संरचना मर्मत सम्भार तथा निर्माण र खेलकुद संरचनाको पूर्वाधार निर्माण र साझेदारी कार्यक्रमका लागि बजेट विनियोजन भएको छ ।