नेपालले आईसीसी पुरुष टी– २० विश्वकपमा सान्त्वना जित दर्ता गरेको छ । नेपालले मंगलबार सम्पन्न समूह ‘सी’ अन्तर्गतको आफ्नो अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध ७ विकेटको जित निकाल्यो ।
नेपालले विश्वकपमा १२ वर्षपछि जित निकालेको हो । नेपाल पछिल्लो पटक सन् २०१४ को विश्वकपमा विजयी भएको थियो । त्यतीबेला टाेलीले हङकङ र अफगानिस्तलाई हराएको थियो । सन् २०२४ को विश्वकपमा भने नेपाल जितविहीन बन्यो ।
मुम्बईस्थित वनखेडे रंगशालामा स्कटल्यान्डले प्रस्तुत गरेको १७१ रनको लक्ष्य नेपालले ४ बल बाँकी रहँदा ३ विकेट गुमाउँदै पूरा गर्याे।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २३ बलमा ४ चौका र ३ छक्काको मद्दतले अविजित ५० रनको योगदान गरे । यसैगरी, कुशल भुर्तेलले ४३, आसिफ शेखले ३३, गुल्सनकुमार झाले अविजित २४ र कप्तान रोहितकुमार पौडेलले १६ रन बनाए ।
पहिलो विकेटका लागि कुशल र आसिफले ७४ रनको साझेदारी गरेका थिए । यसैगरी, चौथो विकेटका लागि दीपेन्द्र र गुल्सनबीच अविजित ७३ रनको साझेदारी भएको थियो ।
स्कटल्यान्डका लागि तीनै विकेट माइकल लिस्कले लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा विकेट गुमाउँदै ७ विकेट गुमाउँदै १७० रनको योगफल तयार पारेको थियो ।
स्कटल्यान्डका लागि माइकल जोनसले ४५ बलमा ८ चौका र ३ छक्काको मद्दतले सर्वाधिक ७१ रनको योगदान गरे । यसैगरी, जर्ज मुन्सेले २७, ब्रेन्डन म्याकमुलनले २५, मार्क वाटले अविजित १० र कप्तान रिची बेरिङटनले १० रन बनाए ।
पहिलो विकेटका लागि जोनस र मुन्सेले ८० रनको साझेदारी गरेका थिए । नेपालका लागि सोमपाल कामीले ३, नन्दन यादवले २, कप्तान रोहितकुमार पौडेल र कुशल भुर्तेलले १–१ विकेट लिए ।
पहिलो जितसँगै नेपालले ४ खेलमा २ अंक जोड्यो । नेपालले यसअघि इंग्ल्यान्ड, इटाली र वेस्ट इन्डिजसँग पराजय व्यहोरेको थियो ।
स्कटल्यान्डको पनि ४ खेलबाट २ अंक नै रह्यो । यसअघि वेस्ट इन्डिज र इंग्ल्यान्डसँग हार व्यहोरेको स्कटल्यान्डले इटालीविरुद्ध जित निकालेको थियो ।