एजेन्सी । फ्रेन्च लिग वानमा आफ्नो तेस्रो खेलमा पनि लियोनल मेसी र नेमारलाई आराम दिएको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले शुक्रबार राती आफ्नो शानदार जितको यात्रालाई निरन्तरता दिएको छ ।
लगातार तेस्रो जित हात पार्ने क्रममा पिएसजीले ब्रेस्टलाई उसकै घरमा ४–२ ले हरायो । खेलको २३औं मिनटमा एन्डर हरेराको गोलबाट पिएसजीले खेलमा अग्रता लिएको थियो । ३६औं मिनटमा काइलन एम्बाप्पेले त्यो अग्रता दोब्बर पारे ।
यद्यपि पहिलो हाफ कै ४२औं मिनटमा फ्रान्क होनोरतले ब्रेस्टका लागि पहिलो गोल गर्दे टोलीलाई खेलमा फर्काउने प्रयास गरे । पहिलो हाफ २–१ कै सम्पन्न भए तापनि दोस्रो हाफमा पिएसजीले थप दुई गोल थप्यो ।
७३औं मिनटमा इड्रिसाले फ्रेन्च जायन्टका लागि तेस्रो गोल गर्दा पिएसजी जितको संघारमा पुगिसकेको थियो । तर ८५औं मिनटमा ब्रेस्टका स्टिव मौनीले दोस्रो गोल फर्काउँदा घरेलु टोली हौंसिए तापनि सफल बन्न सकेन । उता खेलको अन्तिमतिर वैकल्पिक खेलाडी एन्जल डि मारियाले चौथो गोल गर्दै पिएसजीको शानदार जित पक्का गरेका थिए ।
यो जितसँगै ३ खेलबाट शतप्रतिशत जितका साथ ९ अंक जोड्दै लिगतालिकाको शिर्ष स्थानमा छ । उता पराजित ब्रेस्ट भने २ अंकका साथ १२औं स्थानमा झरेको छ ।