एजेन्सी । इङलिस प्रिमियर लिगको शुरुवाती खेलमा लिडस युनाइटेडमाथि ५–१ को जित निकाल्दै नयाँ सिजनको शुरुवात गरेको म्यानचेष्टर युनाइटेड आइतबार भने दुर्भाग्यपुर्ण रुपमा बराबरीमा रोकिएको छ ।
सेन्ट मेरिज स्टेडियममा भएको खेलमा म्यानचेष्टरले घरेलु टोली साउथाम्पटनसँग १–१ को बराबरी खेल्दै अंक बाँड्न बाध्य भएको हो । यद्यपि खेलमा अग्रता भने साउथाम्पटनले लिएको थियो ।
खेलको ३०औं मिनटमा फ्रेडले आत्मघाती गोल गर्न पुगे । साउथाम्पटनका चे एडम्सले प्रहार गरेको बल फ्रेडसँग डिफ्लेक्ट हुँदै गोलमा परिणत हुँदा घरेलु टोलीले सनसनीपुर्ण अग्रता बनाएको थियो ।
पहिलो हाफसम्म १–० ले पछि म्यानचेष्टरले दोस्रो हाफमा भने गोल फर्काउन सफल भयो । ५५औं मिनटमा मेसन ग्रीनवुडले बराबरी गाल गर्दै रेड डेविल्सको हार टारेका थिए ।
यो नतिजासँगै २ खेलबाट ४ अंक जोडेको म्यानचेष्टर चौथो स्थानमा उक्लिएको छ । उता सिजनको पहिलो अंक बटुल्न सफल साउथाम्पटन भने १ अंकका साथ १३औं स्थानमा छ ।