काठमाडौं-अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने सहिद स्मारक सी डिभिजन लिग फुटबलको छनोट प्रतियोगितामा एमयुएफसी विजयचोक युथ क्लब काठमाडौंले सहभागिता जनाउने भएको छ।
बेलायती फुटबल क्लब म्यानचेस्टर युनाईटेडका समर्थकहरुको टोली एमयुएफसी नेपाल र विजयचोक युथ क्लबबीचको सहकार्यमा लिगमा एमयुएफसी विजयचोक युथ क्लबका रुपमा सहभागिता जनाउने क्लबले जनाएको छ।
सन् २०१२ देखि हरेक शनिबार भेला भएर क्लबप्रतिको सम्मान, माया र समर्थकबीचको भाईचारा विस्तार गर्दै आएको क्लबले यसअघि नैकाप गोल्डकप, सुटर्स कपमा सहभागिता जनाइसकेको छ।
जनचेतनामूलक कार्यक्रम, स्वास्थ्य शिविरहरु, खाद्यान्न वितरण, कोभिड १९ को महामारीको समयमा आइसोलेशन सेन्टर व्यवस्थापनमा विजयचोक युथ क्लबले सहयोग गर्दै आएको छ।
एन्फाले गत शुक्रबार खेल तालिका सार्वजनिक गरिसकेको छ। यही भदौ १० गतेदेखि काठमाडौँ उपत्यकामा सुरु हुने छनोट प्रतियोगिताको उद्घाटन खेलमा समूह ए का सताक्षीधाम युवा क्लब र च्याम्पियन ब्वाइज फुटबल क्लब भिड्ने छन्।
त्यही दिन अर्को खेल एफसीएस एस र गोदावरी युनाइटेडबीच हुनेछ। सी डिभिजन लिगमा देशभरबाट ७८ क्लबको सहभागिता रहने एन्फाले जनाएको छ। उक्त लिग आगामी कात्तिक ८ गतेसम्म चल्ने छ।
एन्फाले सहभागी ७८ क्लबलाई २६ समूहमा विभाजन गरेको छ। प्रत्येक समूहमा तीन वटा क्लबलाई समावेश गरिएको छ। प्रत्येक क्लबले समूह चरणमा दुई खेल खेल्ने छन् ।
समूहको विजेता दोस्रो चरणमा प्रवेश गर्नेछ। दोस्रो चरण र नक आउट चरणलाई तीन समूहमा विभाजन गरिएको छ। हरेक समूहको विजेता क्लब सी डिभिजन लिगमा छनोट हुनेछन्।