बुटवल । सहिद स्मारक 'सी' डिभिजन लिगको छनोट प्रतियोगितामा फूटबल क्लब एमयुएफसी बिजयचोक युवा क्लबले सूचना प्रविधि कम्पनी सफ्टनेपसँग सहकार्य गर्ने भएको छ ।
भदौ १० गतेदेखि काठमाडौंमा सुरु हुने छनोट प्रतियोगितामा सहकार्य गर्न क्लबले सफ्टनेपसँग सम्झौता गरेको हो । सन् २००५ सालमा स्थापना भएको सफ्टनेप अहिने नेपालमा आधुनिक सफ्टवेयर निर्माण गर्ने अग्रणी कम्पनीमा पर्छ ।
सफ्टनेपका प्रमुख कार्यकारी अधिकृत(सीइओ) सुनिल रिजालले प्रतियोगितामा क्लबसँग आफ्नो कम्पनीले प्राविधिक 'पार्टनर'का रुपमा रहने बताए । उनले भने-'ग्रासरुट लेभलदेखि खेल्न सुरु गरेको एमयुएफसी बिजयचोक क्लबसँग हाम्रो कम्पनीले सहकार्य गर्ने सम्झौता गरेको छ । यहीँ लेभलमा खेलिरहेका अन्य क्लबहरु- जो माथि उठ्न खोजिरहेका छन्- उनीहरुका लागि पनि यो कुरा निकै सुखद् छ ।'
बेलायती फुटबल क्लब म्यानचेस्टर युनाईटेडका समर्थकहरुको टोली एमयुएफसी नेपाल र विजयचोक युथ क्लबबीचको सहकार्यमा लिगमा एमयुएफसी विजयचोक युथ क्लबका रुपमा सहभागिता जनाउने छ ।
प्रतियोगिताका लागि एन्फाले गत शुक्रबार खेल तालिका सार्वजनिक गरिसकेको छ। छनोट प्रतियोगिताको उद्घाटन खेलमा समूह 'ए' का सताक्षीधाम युवा क्लब र च्याम्पियन ब्वाइज फुटबल क्लब भिड्ने छन् । त्यही दिन अर्को खेल एफसीएस एस र गोदावरी युनाइटेडबीच हुनेछ। सी डिभिजन लिगमा देशभरबाट ७८ क्लबको सहभागिता रहने एन्फाले जनाएको छ। उक्त लिग आगामी कात्तिक ८ गतेसम्म चल्ने छ।
एन्फाले सहभागी ७८ क्लबलाई २६ समूहमा विभाजन गरेको छ। प्रत्येक समूहमा तीन वटा क्लबलाई समावेश गरिएको छ। प्रत्येक क्लबले समूह चरणमा दुई खेल खेल्ने छन् ।
समूहको विजेता दोस्रो चरणमा प्रवेश गर्नेछ। दोस्रो चरण र नक आउट चरणलाई तीन समूहमा विभाजन गरिएको छ। हरेक समूहको विजेता क्लब सी डिभिजन लिगमा छनोट हुनेछन्।