काठमाडौं-एमयुएफसी विजयचोक युथ क्लबले सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडलाई आफ्नो इन्स्योरेन्स पार्टनर घोषणा गरेको छ।
शहीद स्मारक सी डिभिजन छनोटका लागि हुने फुटबल लिगमा सहभागी हुने एल समूहको टीम विजयचोक युथ क्लब र इन्स्योरेन्सबीच यससम्बन्धि सम्झौता भएको छ।
बिजयचोक युवा क्लबका प्रबन्धक बिबेक थापाले सगरमाथा इन्स्योरेन्स कम्पनीसँग साझेदारी गरेको बताउँदै भने-"खेल र चोटपटक एउटै सिक्का को दुई पाटा हुन्, मैदान मा उत्रिसकेपछि जुनसुकै खेलाडिलाई सानोठुलो इन्जुरी हुन सक्छ, सगरमाथा इन्स्योरेन्स सँगको हाम्रो साझेदारीले खेलाडीहरुमा बोझ कम भएको र यसले उनीहरुको आत्मविश्वास पनि बढाएको महसुस भएको छ, सम्पूर्ण टीम यस्तो विश्वसनीय खेल बीमा योजना को लागी आभारी छ।"
बेलायती फुटबल क्लब म्यानचेस्टर युनाईटेडका समर्थकहरुको टोली एमयुएफसी नेपाल र विजयचोक युथ क्लबबीचको सहकार्यमा लिगमा एमयुएफसी विजयचोक युथ क्लबका रुपमा सहभागिता जनाउने छ।
प्रतियोगिताका लागि एन्फाले खेल तालिका सार्वजनिक गरिसकेको छ। छनोट प्रतियोगिताको उद्घाटन खेलमा समूह 'ए' का सताक्षीधाम युवा क्लब र च्याम्पियन ब्वाइज फुटबल क्लब भिड्ने छन्।
त्यही दिन अर्को खेल एफसीएस एस र गोदावरी युनाइटेडबीच हुनेछ। सी डिभिजन लिगमा देशभरबाट ७८ क्लबको सहभागिता रहने एन्फाले जनाएको छ। उक्त लिग आगामी कात्तिक ८ गतेसम्म चल्ने छ।
एन्फाले सहभागी ७८ क्लबलाई २६ समूहमा विभाजन गरेको छ। प्रत्येक समूहमा तीन वटा क्लबलाई समावेश गरिएको छ।
प्रत्येक क्लबले समूह चरणमा दुई खेल खेल्ने छन् ।
समूहको विजेता दोस्रो चरणमा प्रवेश गर्नेछ। दोस्रो चरण र नक आउट चरणलाई तीन समूहमा विभाजन गरिएको छ। हरेक समूहको विजेता क्लब सी डिभिजन लिगमा छनोट हुनेछन्।