बुटवल–प्रदेश ५ सरकारले साफ स्तरीय खेलमैदान बनाउने भनेको बुटवलको उजिरसिंह रंगशालाको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) को म्याद थपिएको छ।
बुटवल उपमहानगरपालिका वडा नम्बर १३ को जबइ मैदानमा बनाउन लागिएको उजिरसिंह रंगशालाको वातावरणीय प्रभाव मुल्यांकन इआइएको म्याद ८ महिना थप गरिएको हो।
उपमहानगरको पछिल्लो कार्यपालिका बैठकले २०७७ माघ १० गते सम्मको लागि इआइएको म्याद थपेको हो। बुटवल उपमहानगरले ग्रीन नेपाल कन्सल्टेन्सीसँग गरेको सम्झौताअनुसार गत जेठ मसान्तसम्म इआइए सम्पन्न भइसक्नुपर्दथ्यो।
इआइएको लागि बुटवल उपमहानगरपालिकाले ग्रीन नेपाल कन्सल्टेन्सी प्रालिसँग गत चैत्र ५ गते सम्झौता गरेको थियो। सम्झौताअनुसार गत जेठमसान्तसम्म इआइएको काम सम्पन्न हुनुपर्ने थियो। प्रदेश ५ सरकारले उजिरसिंह रंगशाला बनाउन २ वर्ष अघि देखि बजेट विनियोजन गरेको छ।
जसअनुसार इआइए र डिपीआरको जिम्मा बुटवल उपमहानगरपालिकालाई दिएको थियो। डिपिआर सम्पन्न भएपनि इआइएको काम अघि बढेको छैन।
तर चैत ११ गतेदेखि मुलुकभर लकडाउन भएकाले विकास निर्माणको काम ठप्प भएको थियो। अर्को तर्फ प्रदेशले इआइएको कानुन पनि ल्याएको छैन।
‘लकडाउन भन्दा पनि प्रदेश सरकारले कानून नबनाएकाले काम अघि नबढेको हो–उपमहानगरका शहरी पूर्वाधार विकास महाशाखाका प्रमुख सुमन श्रेष्ठले भने–कानून बन्ने बित्तिकै इआइएको काम सुरु हुन्छ ।’
ग्रीन नेपालसँग गरेको सम्झौतामा इआइएको बारेमा प्रदेश सरकारको कार्यक्षेत्रको बारेमा नीतिगत स्पष्टता भएपछि मात्र अध्ययनको काम अघि बढाउने समझदारी भएको श्रेष्ठले बताए।
इआइएको लागि प्रदेश सरकारबाट प्राप्त १० लाख रुपैयाँ र उपमहानगरकै ५ लाख रुपैयाँ गरी १५ लाख रुपैयाँ विनियोजन भएको छ। रंगशाला निर्माणको लागि चालु आर्थिक वर्षमा ५ करोड रुपैयाँ विनियोजन भएको छ। इआइएको काम अघि नबढ्दा बजेट खर्च हुन सकेको छैन। आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि रंगशालाको लागि ४ करोड रुपैयाँ छुट्याइएको छ।
बुटवलको जबइ मैदानमा बन्ने उजिरिसिंह रंगशाला निर्माणको लागि करिब ३७ करोड लाग्ने अनुमान गरिएको छ। चारै तर्फ प्याराफिट भएको रंगशाला १२ देखि २० हजार दर्शक अट्ने क्षमताको हुने गरी डिजाइन तयार गरिएको छ।
रंगशाला प्रवेशका लागि चार वटा प्रवेशद्वार हुनेछ। रंगशालाको पश्चिमपट्टि जितेश्वरी सामुदायिक बन पर्दछ। वनको डाँडा र ढिक सहितको भएकाले त्यसैलाई मिलाएर प्याराफिट बनाउने गरी डिपिआर तयार गरिएको छ। रंगशालामा मुख्य गरेर फूटबल ग्राउण्ड हुन्छ। फुटबल ग्राउण्डको एरिया बाहिर एथलेटिक ट्याक हुनेछ।
त्यसैगरी रंगशाला परिसरमा भलिबल, बास्केटबल, टेनिस कोर्ट, स्वीमिङ पूल लगायतका लगायतका संरचना पनि बन्ने छन्। रंगशाला बाहिर भिआइपी र सर्वसाधारणको लागि छुट्टाछुट्टै पार्किङ स्थल रहने छ।