काठमाडौं: घुँडामा चोट लागेर शल्यक्रियाका लागि कतारमा रहेका महिला खेलाडी सावित्रा भण्डारी र पुरुष खेलाडी विमल घर्तीमगर राष्ट्रिय पुरुष फुटबल टोलीको खेल हेर्न प्रशिक्षण स्थल पुगेका छन् ।
शनिबार राति कतारमा साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली टोलीको मैत्रीपूर्ण खेल अवलोकन गर्ने खेलाडीद्वय सावित्रा र विमल खेल स्थत दाेहा पुगेका हुन् ।
नेपालले कतारी दोस्रो डिभिजन क्लब अल विदा स्पोर्टस् क्लबसँग मैत्रीपूर्ण खेल खेलेको थियो । मैत्रीपूर्ण खेल भए पनि अखिल नेपाल फुटबल संघ (एन्फा)ले त्यसको विस्तृत जानकारी दिएकाे छैन ।
गत फागुनमा महिला लिग खेल्ने क्रममा सावित्राको एन्टेरियर क्रुसिएल लिगामेन्ट (एसिएल) च्यातिएको थियो । सावित्राको शल्यक्रिया असार अन्तिम साता गरिएको थियो ।
यस्तै राष्ट्रिय टोलीको प्रशिक्षण क्रममा विमलको गत डिसेम्बरमा एसिएलमा समस्या देखिएको थियो । उनको फागुनमा शल्यक्रिया भएको हो ।
एन्फाले कतार एफएसँग दुबै खेलाडीको शल्यक्रिया गर्न अनुरोध गरेसँगै कतार एफएले दुबै खेलाडीको दोहास्थित अस्पेटार अस्पतालमा शल्यक्रिया गरेको थियो । हाल दुबै खेलाडी रिह्याबमा छन् ।
नेपाली टोली १ देखि १६ अक्टोबरसम्म माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको लागि तयारी गर्न कतार पुगेको हो । नेपालले त्यहाँ १६ दिन प्रशिक्षण गरेर सेप्टेम्बर २७ मा माले प्रस्थान गर्नेछ ।
कतार पुगेको नेपाली टोलीले शनिबार पहिलो मैत्रीपूर्ण खेल खेलिसकेकाे छ ।