भारतीय क्रिकेट बोर्ड बीसीसीआईले चिनियाँ मोबाइल कम्पनी भिभोसँगको मुख्य प्रायोजन सम्झौता रद्द गरेको छ।
पछिल्लो समय भारत र चीनबीच विवाद बढ्दै गएपछि आईपीएलद्वारा चिनियाँ कम्पनी भिभोसँगकाे प्रायोजन सम्झौता रद्द भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
भिभोले पाँच वर्षसम्म मुख्य प्रायोजन गर्नको लागि सन् २०१८ मा आईपीएलसँग दुई हजार एक सय ९९ करोड भारुको सम्झौता गरेको थियो।
चीनसँग तनाव बढ्दै गएपछि आईपीएलमा भिभो मोबाइलको मुख्य प्रायोजन हटाउन बीसीसीआईमाथि चर्को दबाब परेपछि उसले भिभोसँगको सम्झौता तोडेको जनाइएको छ।
यस वर्षको आईपीएल आउँदो १९ सेप्टेम्बरदेखि यूएईमा हुँदैछ।
सीमा क्षेत्रमा चिनियाँ सेनासँगको आक्रमणमा २० जना भारतीय सैनिकको ज्यान गएपछि दुई देशबीच तनाव बढेको हो।
यही तनावकै कारण गोप्य सूचना चुहिने खतरा रहेको बताउँदै भारतले यसअघि चिनियाँ एप्लिकेशन टिकटकमाथि समेत प्रतिबन्ध लगाइसकेको छ।