बुटवल । रुपन्देहीको भैरहवामा आइतबारदेखि स्व.शेरबहादुर सेन्चुरी मेमोरियल अन्तरविद्यालय स्तरीय टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
रुपन्देही क्रिकेट संघको आयोजनामा सुरु प्रतियोगिताको उद्घाटन खेलमा एभरेष्ट बोर्डिङ स्कूल बुटवलले साइग्लोबल एकेडेमीलाई ९ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानामा टस जितेर ब्याटिङ गरेको साइग्लोबलले निर्धारित खेलमा ९ ओभरमा सबै विकेट गुमाउँदै ५९ रन जोड्यो ।
लामो समयदेखि रुपन्देही क्रिकेट संघले संचालन गर्दै आएको यो प्रतियोगिता पछिल्ला दुई वर्ष कोरोना महामारीका कारण रोकिएको थियो । यसपटक महामारी कम भएकाले पुनः प्रतियोगिता सुरु गरिएको संघका अध्यक्ष हरिबहादुर थापाले बताउनुभयो ।
प्रतियोगिताको बिजेता टिमले नगद ३० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने खेल संयोजक उदयकुमार मल्लिकले जानकारी दिनुभयो ।
उहाँका अनुसार उपबिजेता टिमलाई नगद रु १५ हजार र ट्रफी प्रदान गरिने छ । यस्तै, म्यान अफ द सिरिजलाई रु ५ हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानलाई रु दुई हजार ५ सय, प्रत्येक खेलको म्यान अफ द म्याचलाई रु ५ सय प्रदान गरिने छ ।
प्रतियोगिताको अन्तिममा अनुशासित खेल प्रदर्शन गर्ने एक टिमलाई पनि पुरस्कृत गरिने छ । यसअघि प्रतियोगिता उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खाँनले खेल क्षेत्रको विकासमा नगरपालिकाले सधैं हातेमालो गर्ने बताउनुभयो । १३ विद्यालय सहभागी प्रतियोगिता मंसिर २४ गतेसम्म सञ्चालन हुनेछ ।