बुटवल । बुटवलमा प्रथम मेयर कप तथा पाँचौँ संस्करणको खुला लन टेनिस प्रतियोगिता हुने भएको छ । रुपन्देही लन टेनिस सङ्घको आयोजनामा फागुन ६ देखि १० गतेसम्म देवीनगर लन टेनिस कम्प्लेक्समा हुने प्रथम मेयर कप तथा पाँचौँ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता २०७९ को तयारी पूरा भएको सङ्घका अध्यक्ष गोपाल ज्ञवालीले बताउनुभयो ।
‘लन टेनिस खेलको कुम्भ मेलाका रूपमा देशभरका खेलाडीबीच प्रतियोगिता हुनेछ । यहाँ एक सयभन्दा बढीको सङ्ख्यामा खेलाडीहरू सहभागी हुनेछन्’ उहाँले भन्नुभयो । रुपन्देहीमा लन टेनिस खेल र खेलाडीको क्षमता विकास, नियमित अभ्यास र खेल पूर्वाधार विकासमा रुपन्देही लन टेनिस सङ्घ लागेको उहाँको भनाइ छ ।
वि.सं २०६८ सालदेखि रुपन्देहीमा खेलाडीलाई सङ्गठित गर्दै छोटो समयमा केन्द्रमा आबद्धता भएर वार्षिक कार्ययोजना बनाई जिल्लामा उमेर समूहका खेलाडी उत्पादन, खेलकुद गतिविधि, पूर्वाधार विकास र विभिन्न तालिममा जोड दिइएको उहाँले बताउनुभयो । हाल देवीनगरमा ४ वटा व्यवस्थित कोर्ट छन् ।
पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगितामा देशभरका १ सय बढी खेलाडी विभिन्न उमेर समूहमा भाग लिने खेल संयोजक तथा निवर्तमान अध्यक्ष सञ्जयप्रकाश श्रेष्ठले बताउनुभयो ।
बुटवल उपमहानगरपालिकाले चार लाख आर्थिक सहयोग गरेको छ । खेल अवधिभरमा १८ लाख खर्च अनुमान गरिएको आयोजकको भनाइ छ ।