बुटवल । जिल्ला फुटबल संघ रुपन्देहीको आयोजनामा आजदेखि २२ औं संस्करणको तिलोत्तमा गोल्ड कप शुरु भएको छ ।बुटवल-११ देविनगरमा अवस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको गोल्डकपको उद्घाटन बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले गर्नुभयो ।
उद्घाटन खेलमा घरेलु टोलीलाई पराजित गर्दै सुदूरपश्चिम सेमिफाइनल प्रवेश गरेको छ । खेलमा रुपन्देही-११ लाई ३-१ गोल अन्तरले पराजित गर्दै सुदूरपश्चिम अघिल्लो चरण प्रवेश गर्न सफल भएको हो ।
भोलि आइतबारको खेल हिमालयन शेर्पा र थ्री सटारका बीच हुने छ । दुई विभागीयसहित ८ टिम सहभागी प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउने संघले जनाएको छ । गोल्डकपको उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ ।
सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ । यस्तै, प्रत्येक खेलमा म्यान अफ द म्याचलाई पनि ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिने संघले जनाएको छ ।