काठमाडौं । विश्वकप छनोट क्रिकेटमा अमेरिकासँगकाे खेलमा नेपाल ६ विकेटले विजयी भएको छ ।
जिम्बाव्वेको हरारेमा जितका लागि पाएको २०८ रनको लक्ष्य नेपालले ४३ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपाललाई जिताउन भीम सार्की र दीपेन्द्रसिंह ऐरीले नट आउट ७४ रनको साझेदारी गरेका थिए । सार्की ७७ र ऐरी ३९ रनमा नट आउट रहे ।
त्यसअघि जिम्बावेको राजधानी हरारेस्थित ताकासिंगा क्रिकेट क्लबमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको अमेरिका ४९ ओभरमा २०७ रनमा अलआउट भयो।
अमेरिकाका लागि सातौं नम्बरमा ब्याटिङ गरेका शायन जहानगिरले शतक प्रहार गरे। एकदिवसीय खेलमा पहिलो शतक प्रहार गरेका उनले १०० रन जोड्ने क्रममा ७९ बलमा १० चौका र ३ छक्का हिर्काए।
१० टिम सहभागी प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। समूहमा नेपालसहित दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, आयोजक जिम्बावे, नेदरल्यान्ड्स र अमेरिका छन्।
समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई रहेका छन्। अब नेपालले २२ जुनमा वेस्ट इन्डिज (असार ७) र २४ जुनमा (असार ९) नेदरल्यान्ड्ससँग खेल्नेछ।