काठमाडौं । नेपालले आज विश्वकप बिजेता वेस्ट इन्डिजसँग खेल्न प्रतिस्पर्धा गर्ने भएको छ ।
आइसिसी विश्वकप छनोट २०२३ को तेस्रो खेल अन्तर्गत नेपालले आज पहिलो पटक विश्वकप क्रिकेट बिजेता वेस्ट इन्डिजसँग खेल्न लगेको हो । सो खेल नेपाली समय अनुसार अपरान्ह १२ः४५ बजेबाट हरारे स्पोर्ट्स क्लबमा सुरु हुनेछ ।
नेपालले यसअघि खेलेका दुई खेल मध्ये एकमा जीत र एकमा हार ब्योहोरेको छ । यसअघि नेपालले पहिलो खेलमा जिम्बावेसँग हार बेहोर्दा दोस्रो खेलमा अमेरिकालाई पराजित गरेको थियो।
वेस्ट इन्डिजले भने दोस्रो खेल खेल्न लागेको हो। उसले पहिलो खेलमा अमेरिकालाई पराजित गरेको थियो। नेपाल र वेस्ट इन्डिजबीच एकदिवसीय खेलमा पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो।
नेपालको प्रशिक्षक नियुक्त हुनुअघि मोन्टी देसाई वेस्ट इन्डिजको ब्याटिङ प्रशिक्षक थिए। वेस्ट इन्डिज टिमको बारेमा देसाई जानकार हुनु नेपाली टिमका लागि योजना बनाउन फाइदाजनक हुन सक्छ।
१० टिम सहभागी प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। समूहमा नेपालसहित दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, आयोजक जिम्बावे, नेदरल्यान्ड्स र अमेरिका छन्। समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई रहेका छन्।
वेस्ट इन्डिज आज खेलेपछि नेपालले अन्तिम खेल २४ जुनमा (असार ९) नेदरल्यान्ड्ससँग खेल्नेछ।