बुटवल । मदन भण्डारी स्पोर्टस् एकेडेमी केन्द्रीय भलिबल विभागको आयोजनामा लुम्बिनी प्रदेश स्तरीय अन्तरमावि छात्र÷छात्रा भलिबल प्रतियोगिता बुटवलमा हुने भएको छ ।
जननेता स्वर्गीय मदन भण्डीको जन्म जयन्ती तथा स्मृतीमा बुटवल–१० रामनगर स्थित कालिका मानवज्ञानको मैदानमा यही असार १३ गतेदेखि १७ गतेसम्म प्रतियोगिता हुने आज बुटवलमा पत्रकार सम्मेलमार्फत जानकारी गराइएको छ ।
‘शान्ती र समृद्धीका लागि खेलकूद’–भन्ने मूल नारासहित आयोजित भलिबलको विजेता समुहले रु ७० हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यसैगरी उप विजेता समूहले रु ५० हजार, तृतीयले रु ३० हजार तथा सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम ४ ले रु १५ हजार नगद राशीसहित कप मेडल पमाणपत्र प्राप्त गर्नेे भलिबल विभागका प्रमुख बुद्धि बस्यालले जानकारी दिनुभयो ।
यसैगरी विधागत तर्फ वेष्ट प्लेयरले रु ३ हजार, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सर्भर, उत्कृष्ट डिफेन्डर तथा उत्कृष्ट सेटरका लागि प्रतिव्यक्ति रु १ हजारका दरले नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्न रु १२ लाख खर्च अनुमान गरिएको छ ।
छात्रातर्फ १५ र छात्रतर्फ २० समूह रहने प्रतियोगितामा प्रत्येक समूहले २ जना राष्ट्रिय खेलाडीलाई समेत सहभागी गराउने पाउने व्यवस्था गरिएको छ ।
पत्रकार सम्मेलनमा मदन भण्डारी स्पोर्टस एकेडेमी केन्द्रीय अध्यक्ष ध्रुव आचार्यले सबैका लागि खेलकूद भन्ने मूल नारासहित एकेडेमी खेल गतिविधि विस्तार अभियानमा लागेको बताउनुभयो ।
२०६६ पुस १७ अर्थात जनवरी १ २०१० मा स्थापना भएको एकेडेमीले समाजको हरेक क्षेत्रमा प्रतिस्पर्धाको आधारमा श्रेष्ठता कायम गर्नुपर्छ भन्ने मदनको विचारलाई खेलकुदसँग जोडेर राष्ट्रव्यापिरुपमा व्यवसायिक खेलाडी उत्पादन गर्दै अनुशासित र राष्ट्रप्रेमी नागरिक बनाउने लक्ष्यअनुसार काम गरिरहेको बताउनुभयो ।
अन्तरर्राष्ट्रिय खेलकुद दिवसको अवसर पारेर लुम्बिनीमा गत चैत्र २३ गते शान्तीको कामना गर्दै शुरु गरिएको लुम्बिनी पिस हाफ म्याराथनसगै विभिन्न प्रतियोगिता सम्पन्न भएको छ ।
विभिन्न खेल विधाका राष्ट्रिय एवं क्षेत्रीय प्रतियोगिता अन्तर्गत क्रिकेट, कराते, रेस्लिङ, ब्याडमिन्टन, चेस, फुल कन्ट्याक्टका राष्ट्रिय प्रतियोगिता र फुटबल, भलिबल, तेक्वान्दो, फुटसल, डोरी तान लगायतका प्रदेशस्तरीय प्रतियोगिता सम्पन्न भएका छन्