बुटवल । एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको पहिलो चरणको निर्माण कार्य सकिएको छ । करिब ६ महिनाको अवधिमा पहिलो चरणको काम सम्पन्न भएको हो । एक्स्ट्रा ओभल प्रालिका निर्देशक बिनोद कुँवरले आफूहरुले करिब ५२ दिनमा अहिलेको पूर्वाधार तयार गरेको बताउनुभयो । दुई वर्ष अघि जग्गा खरिद प्रकृया सुरु गरी तिलोत्तमा नगरपालिकाको वडा नं १७ स्थित पूर्व दरखसवामा साढे ५ विघा जग्गामा निर्माण भएको छ ।
फागुन १ गतेबाट मैदान खेल्न सकिने उहाँले दाबी गर्नुभयो । खेलकुदमा पनि एकेडेमिक प्रक्रियामा सरकार लाग्नुपर्ने बताउनुभयो । मैदानको दिगोपनाका लागि आफूहरु एकेडेमी सञ्चालन गरेर आर्थिक पाटोलाई व्यवस्थापन गर्ने सोच रहेको उहाँले बताउनुभयो । भारतको जोडिएको सिमा क्षेत्रका कारण पनि यहाँ व्यवसायिक रुपमा एकेडेमी चलाउने योजना रहेको उहाँले बताउनुभयो ।
क्रिकेटमा अष्ट्रेलियाको उदाहरण दिँदै जति धेरै क्रिकेट मैदानबाट धेरै खेलाडी उत्पादनमा जोड मिल्ने बताउनुभयो । असोजको तेस्रो हप्ताबाट पहिलो चरणको कार्य सुरु भएको हो । ३ हजार ट्रिपर माटो राखेर मैदान सम्याइएको छ । मैदानमा दुबो लगाउने काम सम्पन्न गरिएको छ । मैदान वरपर ड्रेन निर्माण गर्नुका साथै फेन्सिङ गरिएको छ । पिच बनाइएको छ । साइड स्क्रिनको यो हप्तामै सम्पन्न हुने तयारीमा छ । माघबाट दोस्रो चरणको काम सुरु हुनेछ । यसमा पेभेलियन, चेन्जिङ रुम, क्यान्टिन, टेक्निकलका लागि रुमहरुको ५ हजार क्षमताको निर्माण कार्य सुरु गरिनेछ । चैतबाट साइडको सानो मैदानको काम पनि सुर हुनेछ, जहाँ प्रशिक्षण गर्न मिल्नेछ ।
अर्को चरणमा मिडिया सेन्टर र थप प्याराफिट निर्माणको कार्य सुरु हुनेछ । प्रत्येक वर्ष ५ हजार दर्शक क्षमता थप्दै ४ वर्षभित्र २५ हजार दर्शक क्षमताको क्रिकेट मैदानलाई रंगशालाको स्वरुपमा निर्माण सम्पन्न गर्दा ४० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले खेल विकासको आधार नीति नियम, पूर्वाधार विकास र खेलकुद गतिविधि मुख्य ३ खम्बाका रुपमा रहेको बताउनुभयो । कुनै एउटा पक्षबिना विकास अघि बढ्न नसक्ने भन्दै उहाँले निजी स्तरबाट लगानीमा निर्माण गरेर सरकारलाई सहयोग भएको बताउनुभयो । प्रदेशबाट गरिने प्रतियोगिताको लागि आफ्नो क्षेत्रबाट सहयोग गर्न तयार रहेको उहाँलेबताउनुभयो ।
कार्यक्रममा पूर्वराष्ट्रिय क्रिकेट खेलाडी तथा ब्राण्ड एम्बेसडर शक्ति गौचनका अनुसार रंगशालामा होस्टेलसहितको एकेडेमी र ट्रेनिङ सेन्टर सञ्चालन हुनेछ । रंगशाला कम्पाउण्डमा चार तलाको भवन बनाई एक सय जनालाई एकेडेमीमा राखेर प्रशिक्षण दिइने बताउनुभयो । एक्स्ट्राटेक ओभलका चिफ अप्रेटर सुदिक्षा गौतम, मैदान निर्माणको अपरेसन पक्षको जिम्मा सुर्य कुँवरले लिएका छन् । यूएईमा लामोसमय बसेर आबुधावीको शेख जायेद अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा क्यूरेटरको जिम्मेवारी लिएका माधव पाठकले एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा सात वटा पिच तयार भएको बताउनुभयो । पिचलाई ७० मिटरको बाउण्डरी दिन सकिने गरि तयार भएको उहाँले बताउनुभयो । पिचको गुणस्तर निक्कै उत्कृष्ट भएको उहाँको दावि छ ।