काठमाडौँ । नेपाल स्केटबोर्ड तथा स्केट बोर्डिङ संघ र स्केट एड नेपालको संयुक्त आयोजनामा दक्षिण एसियाली स्केटबोर्ड प्रतियोगिता बिहीबारदेखि बुटवलमा हुने भएको छ । प्रतियोगिताको यो दोस्रो संस्करण हो ।
प्रतियोगितामा दक्षिण एसियाका नेपालसहित भारत, बङ्गलादेश, श्रीलङ्का, भुटान, पाकिस्तान र माल्दिभ्स तथा आमन्त्रित राष्ट्रमा म्यान्मार र थाइल्यान्ड गरी ९ राष्ट्रको सहभागिता रहने आयोजक संघका अध्यक्ष अच्युत खनालले जानकारी दिनुभयो ।
नेपालबाट १ सय खेलाडीको सहभागिता रहने बताइएको छ । बाँकी प्रत्येक राष्ट्रबाट ४० खेलाडीलाई आमन्त्रण गरिएको सङ्घले जनाएको छ ।
पहिलो दिन छनोट चरणका खेलहरू हुनेछन् । छनोट चरणबाट प्रत्येक राष्ट्रबाट १६ खेलाडी सेमिफाइनलमा प्रवेश गर्ने छन् । सेमिफाइनलबाट प्रत्येक राष्ट्रबाट ८ खेलाडी उपाधि होडमा प्रवेश गर्ने छन् ।
पुरुष/महिलामा गेम्स अफ स्केटबोर्ड र वेस्ट रनमा प्रतिस्पर्धा हुनेछ । पुरुष–महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १ हजार अमेरिकी डलर, ५ सय अमेरिकी डलर र २ सय ५० अमेरिकी डलर नगद पुरस्कार प्राप्त गर्ने छन् ।
तीनदिने प्रतियोगिताका खेलले बुटवलको तिलोत्तमास्थित डुङा स्केट पार्कमा खेलाइने आयोजक संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक जागृत पहाडीले बताउनुभयो ।
प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने पुरुष–महिला खेलाडीलाई जर्मनीको स्केट एड इन्टरनेसनलमा तालिमको अवसर पनि प्रदान गर्ने अध्यक्ष खनालले जानकारी गराउनुभयो ।