काठमाडौं, फागुन १४ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेटरको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ । जसअनुसार पुरुषतर्फ ३० जना क्रिकेटरलाई चार श्रेणीमा वर्गीकरण गरिएको छ । पहिलो श्रेणीका क्रिकेटरले मासिक एक लाख तलब पाउने भएका छन् ।
यस्तै महिलातर्फ १९ खेलाडी वर्गीकरणमा परेका छन्। क्यानको बोर्ड बैठकले वर्गीकरणको निर्णय अनुमोदन गरेको हो। क्यान फागुन १२ र १४ गते बसेको बोर्ड बैठकले यो निर्णय गरेको हो ।
पुरुष तर्फ ग्रेड ’ए’ लाई १ लाख, ग्रेड ’बी’ लाई ७० हजार, ग्रेड ’सी’लाई ५५ हजार, ग्रेड ’डी’ लाई ३५ हजार र इमर्जिङ क्याटोगरीलाई २५ हजार रुपैयाँ मासिक तलब उपलब्ध गराउने क्यानले निर्णय गरेको छ । पुरुष तर्फ ३० जना खेलाडीहरुमध्ये ग्रेड ’ए’ मा रोहित पौडेल, सोमपाल कामी, करण केसी, दिपेन्द्र सिंह ऐरी, आसिफ सेख र कुशल भुर्तेल रहेका छन् । ग्रेड ’बी’ मा कुशल मल्ल, गुलशन झा, भिम सार्की, ललित नारायण राजवंशी, आरिफ सेख र अविनाश बोहरा रहेका छन् । ग्रेड ’सी’ मा बिनोद भण्डारी, अर्जुन साउद, सन्दिप जोरा र प्रतिस जी. सी.रहेका छन् ।
यस्तै ग्रेड ’डी’ मा पवन सर्राफ, सागर ढकाल, अनिल साह, बिबेक कुमार यादव, आकास चन्द, बसिर अहमद र सुर्य तामाङ रहेका छन् । इमर्जिङ क्याटोगरी मा दिपेश कंडेल (कोशी), रुपेस सिंह (मधेश), रिजन ढकाल (बागमती), बिपिन खत्री (गण्डकी), देब खनाल (लुम्बिनी), अर्जुन घर्ती (कर्णाली) र हेमन्त धामी (सुदूरपश्चिम) रहेका छन् ।
यस्तैगरी महिलातर्फ १९ जना खेलाडीहरुमध्ये ग्रेड ’ए’ मा इन्दु बर्मा, रुबिना क्षेत्री, सीता राना मगर, ग्रेड ’बी’ मा कविता कुँवर, ग्रेड ’सी’मा पूजा महतो, अश्मिना कर्माचार्य, ग्रेड ’डी’मा अप्सरी बेगम, कविता जोशी, संगिता राई, काजोल श्रेष्ठ र बिन्दु रावल साथै इमर्जिङ क्याटोगरीमा सोनी पाख्रिन, खुसी डंगोल, ज्योत्सनिका मरासिनी, कन्चन श्रेष्ठ, रुबि पोदार, सृस्टि जैसी, सम्झना कुमारी खड़का, सना प्रविन रहेका छन् । महिलातर्फ ग्रेड ’ए’लाई ५० हजार, ग्रेड ’बी’लाई रु.३५ हजार, ग्रेड ’सी’लाई ३० हजार, ग्रेड ’डी’ लाई २५ हजार र इमर्जिङ क्याटोगरिलाई २० हजार मासिक तलब उपलब्ध गराउने क्यानले निर्णय गरेको छ ।
यस्तै बैठकले प्रतियोगिता समिति संयोजकमा दिवाकर घलेलाई तोकेको छ । यस्तै प्राविधिक समिति संयोजकमा विक्रम बिष्ट तथा विकास समिति संयोजकमा धिरेन्द्र सावद र महिला क्रिकेट विकास समिति संयोजकमा प्रदिप मजगैया बनाउने निर्णय भएको छ । नेपाल ए टिमको मूख्य प्रशिक्षकमा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल तथा प्रशिक्षकमा पूर्वअन्तर्राष्ट्रिय क्रिकेट खेलाडी शकलाम अली, साथै यू–१९ महिला टिम प्रशिक्षकको जिम्मेवारी महेशप्रसाद रिजाललाई दिने क्यानले निर्णय गरेको छ ।
नेपालको घरेलु क्रिकेट संरचनालाई बलियो बनाउने योजना बमोजिम उमेर समूहको प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको (यु १९ र यु १६) को उमेर खुल्ने कागजपत्र, विद्यालयको शैक्षिक प्रमाणपत्रको आधारमा तथा अन्य मापदण्ड बनाई उमेर समूहको प्रतियोगितामा सहभागी गराउने वा नगराउने सम्बन्धमा आवश्यक नीति तथा कार्यक्रम तयार गरी कडाइका साथ कार्यान्वयन गर्ने निर्णय पनि क्यानले गरेको छ ।
नेपालमा आयोजना हुने आइसिसी यू– १९ महिला विश्वकप क्रिकेट प्रतियोगिता २०२७ को तयारी स्वरुप मिसन २०२७ अन्तर्गत यू–१६ महिला अन्तर स्कुल क्रिकेट ट्यालेन्ट हन्ट एवं प्रशिक्षण कार्यक्रम ७ वटै प्रदेशहरुमा संचालन गर्ने निर्णय क्यानले गरेको छ ।