बुटवल । मैत्रीपूर्ण टी–२० क्रिकेटमा नेपाल हङकङसँग पराजित भएको छ । वरियतामा आफूभन्दा निकै कमजोर टिम हङकङसँग विर्सनलायक प्रदर्शन गर्दै नेपाल पराजित भएको हो । शनिबार भएको खेलमा बलिङ र ब्याटिङ दुबैमा नेपाली खेलाडीले निकै फितलो प्रदर्शन गर्दै ७३ रनको फराकिलो अन्तरले पराजित भएको हो । नेपालसामु हङकङले ६ विकेटको क्षतिमा २१३ रनको लक्ष्य दिएको थियो ।
लक्ष्य पछ्याउनेक्रममा नेपालले १३९ रन मात्रै बनाएको हो। नेपाल १६.४ ओभरमै अलआउट भएको हो । नेपालका लागि सर्वाधिक रन विनोद भण्डारीले बनाएका छन् । उनले २२ बलमा ४१ रन जोडे । नेपालका कप्तान रोहित पौठेलले ३० रन र आरिफ शेखले ३८ रन बनाए । अरूले दुई अंकको रन जोड्न सकेनन् ।
हङकङतर्फ बाबर हायातले ११० रन बनाए। मार्टिन कोइत्जीले ३१ र अंशी राथले ३९ रन बनाए। अजिज खानले नटआउट भई २१ रन बनाए । नेपालका लागि डेब्यु गरेका आकाश चन्दले तीन विकेट लिए । उनले बाबर हायात, यासिम मुर्ताजा र मार्टिन कोइत्जीको विकेट लिए ।
त्रिकोणात्मक सिरिज खेल्न नेपाली टोली बिहीबार हङकङ गएको थियो । नेपाल, हङकङ र पपुवा न्युगिनीबीच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक टी–२० आई सिरिज सुरू हुँदैछ । त्यसअघि नेपालले शनिबार हङकङसित एउटा मैत्रीपूर्ण खेल खेलेकोे हो । त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो खेल फागुन २७ गते हङकङसँग खेल्ने छ । यस्तै नेपालले फागुन २९ गते पवुवा न्युगिनीसँग खेल्नेछ । फागुन ३० गते त्रिकोणात्मक सिरिजको फाइनल खेल हुने छ ।
नेपाली टोलीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा छन् ।