बुटवल । रूपन्देहीको तिलोत्तमामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला तयार भएको छ । गुल्मीका विनोद कुँवरले रुपन्देहीको तिलोत्तमामा अन्तर्राष्ट्रिय स्तरको एक्स्ट्राटेक ओभल क्रिकेट मैदान ९ महिनामै तयार गर्नुभएको हो ।
अन्तर्राष्ट्रिय मापदण्डअनुसारको क्रिकेट रंगशालाको पहिलो चरणको संरचना निर्माणको काम सकिएपछि रंगशालाको फागुन २८ गते उद्घाटन गरिँदैछ । शनिबार आयोजित प्रत्रकार सम्मेलनमा निर्देशक कुँवरले अब यो मैदानमा कुनै पनि प्रकारको अन्तर्राष्ट्रिय म्याचसमेत खेलाउन सकिने बताउनुभयो ।
तिलोत्तमा नगरपालिका वडा नम्बर १७ पूर्व दरखसवामा एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको पहिलो चरणको काम ९ महिनामै तयार भएको हो । रंगशालाको गत जेठ २९ गते शिल्यान्यास गरिएको थियो ।
२८ गते उद्घाटन गरेपश्चात रंगलाशामा लिजेन्ड्स कप क्रिकेट आयोजना गरिनेछ । एक्स्ट्राटेक ओभलका निर्देशक विनोद कुँवरले पहिलो चरणको काम सम्पन्न भएसँगै चार टिमबीच लिजेन्ड्स कप टी–१० क्रिकेट प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो । प्रतियोगितामा नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको सन् १९९६ को टोली, सन् २०१४ को टी–२० विश्वकप खेलेको टोली, रूपन्देही लेजेन्ड्स र रेस्ट अफ नेपाल गरेर ४ टोलीले सहभागिता जनाउनेछन् ।
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सन् २०१४ टोलीको कप्तानी गर्नेछन् । सन् १९९६ को कप्तानी एलबी क्षेत्रीले गर्नुहुनेछ । त्यस्तै रेस्ट अफ नेपालको टीमलाई कलाम अलीले कप्तानी गर्नुहुनेछ भने रुपन्देही लेजेन्ड्सलाई हरिबहादुर थापाले कप्तानी गर्नुहुनेछ । नौ महिनामै खेलमैदान तयार भए पनि रंगशालाको अरु भौतिक पूर्वाधारको काम भने सकिएको छैन । हाल अष्ट्रेलियामा बस्दै आएका कुँवर रंगशाला उद्घाटन र खेल आयोजनाका लागि श्रीमती सदीक्षा कुँवरसँगै नेपाल आइसकेका छन् । रंगशालामा प्याराफिटसहित अन्य संरचना बनाउन ४० करोड बढीको लगानी लाग्ने अनुमान गरिएको छ ।
कुँवरका अनुसार मैदान निर्माण गर्दा मात्र जग्गाबाहेक ७ करोड खर्च भएको छ । उहाँले १८ करोडको लगातमा प्याराफिटको काम यसै सातादेखि सुरू हुने बताए । उनका अनुसार यो रंगशाला ५ वर्षमा पूरा हुनेछ । ‘हामीले यसलाई चरण–चरणमा बनाउँदै लग्नेछौँ । पहिलो वर्षमा ५ हजार दर्शक अट्ने प्याराफिट बन्नेछ । मैदान तयार भएसँगै प्याराफिटसमेत यही हप्ता शिल्यान्यास हुन्छ र तयार गरिनेछ । यसरी क्रमशः बढाउँदै ५ वर्षमा २५ हजार क्षमतासहितको रंगशाला पूरा गर्ने योजना छ’, उहाँले भन्नुभयोने । उच्च शिक्षाका लागि अष्ट्रेलिया पुगेका विनोदले त्यही गरेको मेहनत र पसिनाको मूल्यले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बनाउनुभएको हो ‘पाँच वर्षअघिबाट क्रिकेट रंगशाला बनाउने योजना थियो । अहिले ९ महिनामै मैदान तयार भएको छ । आशा छ समयमै यो पूर्ण रंगशाला बन्नेछ । आफूले बुनेको सपना पूरा हुनेछ’, उहाँले थप्नुभयो ।
दश वर्ष अष्ट्रेलियामा बिताइसकेका कुँवरले अष्ट्रेलियामा ‘एक्स्ट्राटेक ओभल प्रालि’ नामको सूचना प्रविधि (आइटी) सम्बन्धी ट्रेनिङ इन्स्टिच्युट खोल्नुभएको छ । उहाँ आफैँ पनि आइटी इन्जिनियर हुनुहुन्छ । यही कम्पनीका कुँवर निर्देशक र उहाँकी पत्नी सुदीक्षा चिफ अप्रेटिङ अफिसर हुनुहुन्छ । कुँवरले ‘एक्स्ट्राटेक ओभल’ क्रिकेट मैदान र क्रिकेट एकेडेमीको ‘ब्रान्ड एम्बासडर’ को जिम्मा नेपालका चर्चित पूर्वक्रिकेटर शक्ति गौचनलाई दिनुभएको छ । क्रिकेट रंगशालामा छात्रावाससहितको एकेडेमी र ट्रेनिङ सेन्टर हुने र उक्त एकेडेमी र ट्रेनिङ सेन्टरको सम्पूर्ण जिम्मेवारी गौचनलाई नै दिएको कुँवरले बताउनुभयो । विनोदले कुनै पनि हालतमा यो परियोजनाबिचमा अलपत्र पर्न नदिने अठोटसमेत गर्नुभएको छ ।
कार्यक्रममा लुम्बिनी क्रिकेट संघका अध्यक्ष सञ्जय गुरुङले राज्यले गर्नुपर्ने काम एकजना व्यक्तिले गरेर राज्यलाई नै चुनौती दिएको बताउनुभयो । तिलोत्तमामा मैदान तयार भएसँगै काठमाडौंबाहिर अन्तर्राष्ट्रिय स्तरको गेम खेलाउने वातावरण तयार भएको उहाँको भनाई थियो । यस्तै, रुपन्देही क्रिेकेट संघका अध्यक्ष हरिबहादुर थापा, पूर्वअध्यक्ष प्रशान्तविक्रम मल्ल, लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराई, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेललगायतले बोल्दै नेपाली क्रिकेटमा रुपन्देहीको छुट्टै स्थान रहेको बताउनुभयो । रुपन्देहीबाट ८० जनाभन्दा धेरै राष्ट्रिय खेलाडी तयार भइसकेको उल्लेख गर्दै खेलकुदको दायरा बढाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रमको सञ्चालन खेलकुद पत्रकार मञ्च रुपन्देहीका अध्यक्ष सुमन अधिकारीले गर्नुभएको थियो ।