बुटवल । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी टी–२० विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ । रोहित पौडेलको कप्तानीमा क्यानले टोलीको घोषणा गरेको हो ।
टोलीका अन्य सदस्यहरूमा आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी र ललित राजवंशी रहेका छन् । त्यस्तै, करन केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमल सिंह ऐरीले पनि टोलीमा स्थान बनाउन सफल भएका छन् । टी–२० विश्वकपको नवौँ संस्करण आगामी जुन १ तारिखदेखि अमेरिका र वेस्ट इन्डिजमा सुरु हुँदैछ ।
टी–२० विश्वकप २०२४ मा नेपाल समूह ‘डी’ मा छ । समूहमा नेपालले दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग जुन ४ मा अमेरिकाको डालास र जुन ११ मा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा प्रतिस्पर्धा गर्नेछ । बाँकी खेलहरु जुन १४ मा दक्षिण अफ्रिकासँग र जुन १६ मा हुने बंगलादेशसँग सेन्ट भिसेन्टमा हुनेछ । नेपाल रहेको समूहका खेल अमेरिका र वेस्ट इन्डिजमा हुनेछन् ।
विश्वकपको समूह चरणका खेल जुन १ देखि १८ सम्म हुनेछन् । त्यसपछि १९ देखि २४ जुनसम्म सुपर–८ हुनेछ । सेमिफाइनल २६ र २७ जुनमा हुनेछ भने फाइनल २९ जुनमा हुनेछ ।
अमेरिका र वेस्ट इन्डिजले आइसिसी टी–२० विश्वकप २०२४ संयुक्तरूपमा आयोजना गर्न लागेका हुन् । पहिलोपटक उत्तर अमेरिका क्षेत्रमा पनि हुन लागेको टी–२० विश्वकपमा २० टिमले सहभागिता जाउँदैछन् ।
विश्वकपमा ५५ खेल हुनेछन् । सुरुमा २० टिमलाई ५–५ टिमको ४ समूहमा विभाजन गरिएको हो । ४ समूहका शीर्ष २–२ टिम गरी कुल ८ टिम सुपर–८ मा पुग्नेछन् । सुपर–८ मा पनि दुई समूहमा प्रतिस्पर्धा हुनेछन् । सुपर–२ को दुई समूहका शीर्ष २–२ टिम सेमिफाइनलमा पुग्नेछन् ।
समूह ‘ए’ मा भारत, पाकिस्तान, अमेरिका, क्यानडा, आयरल्यान्ड रहेका छन् । समूह ‘बी’ मा इंग्ल्यान्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड, ओमान छन् । समूह ‘सी’ मा न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा, पपुवा न्युगिनी र समूह ‘डी’ मा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश, नेदरल्यान्ड्स, नेपाल रहेका छन् ।