काठमाडौं । भारत दोस्रोपटक आइसिसी टी–२० विश्वकपको च्याम्पियन बनेको छ । शनिबार राति वेस्ट इन्डिजमा भएको फाइनलमा दक्षिण अफ्रिका ७ रनले पराजित गर्दै १७ वर्षपछि उपाधि जित्यो । वेस्ट इन्डिजको बार्बाडोसमा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एक सय ७७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा दक्षिण अफ्रिकाले आठ विकेट गुमाउँदा मात्र १ सय ६९ रन बनाउन सक्यो । भारत सन् २००७ पछि दोस्रोपटक उपाधि जित्न सफल भयो । अपराजित रहँदै पहिलोपटक फाइनल पुगेको दक्षिण अफ्रिका उपाधि जित्न फेरि असफल भएको छ । एडम मारक्रम कप्तानीमा रहेको दक्षिण अफ्रिका यसअघि टी–२० मा दुई तथा एकदिवसीयमा पाँचपटक सेमिफाइनलमा पुगेर चुकेको थियो । भारत भने अपराजित हुँदै च्याम्पियन हुन सफल भयो ।
हेनरिकको अर्धशतक छायामा
दक्षिण अफ्रिकाको लागि हेनरिक क्लासेनले अर्धशतक बनाए । उनले विस्फोटक ब्याटिङ गर्दै २७ बलमा दुई चौका र पाँच छक्का प्रहार गर्दै ५२ रन बनाए पनि टोलीलाई जित दिलाउन सफल भएनन् । यसअघि क्लासेनले २३ बलमा अर्धशतक बनाएका थिए । १५औँ ओभरमा स्पिनर अक्षर पटेललाई क्लासेनले दुई छक्का र दुई चौकासहित २४ रन प्रहार गरेपछि दक्षिण अफ्रिका सहज अवस्थामा पुर्याएका थिए । तर, बाँकी खेलाडीले त्यसको भरपुर सदुपयोग गर्न सकेनन् ।
ओपनर क्विन्टन डी ककले ३१ बलमा चार चौका र एक छक्कासहित ३९ रनको योगदान गरे । ट्रिस्टान स्टब्सले २१ बलमा तीन चौका र एक छक्का प्रहार गर्दै ३१ रन जोडेका हुन् । यसअघि ओपनर रिजा हेनरिक चार रन बनाउँदा जसप्रित बुमराहबाट बोल्ड भएका थिए । दक्षिण अफ्रिकाको इनिङ्समा क्लासेन र डी ककले ३८ बलमा सर्वाधिक ६८ रनको साझेदारी गरे । क्लासेन र डेभिड मिलरबीच ४५ रनको दोस्रो ठूलो साझेदारी भएको थियो । मिलरले २१ रनको योगदान गरे । भारतका हार्दिक पांड्याले सर्वाधिक तीन विकेट लिए । स्पिनर अर्सदीप सिंह र जसप्रितले समान दुई विकेट हात पारे । अक्षरको नाममा एक विकेट रह्यो ।
कोहली र अक्षरको बलियो साझेदारी
भारतको इनिङ्समा विराट कोहलीले अर्धशतक बनाए । उनले ५९ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ७६ रन बनाएका हुन् । अलराउन्डर अक्षर पटेलले ३१ बलमा ४७ रन बनाएका हुन् । अर्का ओपनर तथा कप्तान रोहित शर्मा ९ रन, तेस्रो क्रममा आएका ऋषभ पन्त डक आउट तथा सूर्यकुमार यादव ३ रन बनाएर आउट भएपछि भारत दबाबमा आएको थियो । तर, अक्षर र कोहलीले भारतको इनिङ्स धानेका थिए । दुई खेलाडीबीच ५४ बलमा सर्वाधिक ७२ रनको साझेदारी भयो । कोहली र शिवम् दुबेबीच ३३ बलमा ५७ रनको दोस्रो ठूलो साझेदारी भएको हो । दुबेले १६ बलमा २७ रन बनाए । दक्षिण अफ्रिकाका एनरिच नर्टजी र केशव महाराजाले समान दुई विकेट हात पारे । माक्रो जनसन, कागिसो रबडाले समान एक विकेट लिएका हुन् ।
टी–२० आईबाट विराट कोहलीको सन्न्यास
भारतीय ब्याटर विराट कोहलीले अन्तर्राष्ट्रिय टी–२० आईबाट सन्न्यास लिएका छन् । फाइनल खेलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै दोस्रोपटक उपाधि उचालेसँगै कोहलीले अप्रत्याशित रूपमा सन्न्यास घोषणा गरे । ‘यो मेरा लागि अन्तिम टी–२० विश्वकप हो,’ कोहलीले भने, ‘मैले मेरो काम पूरा गरेँ । अब, नयाँ पिँढीका लागि अवसर हो । केही राम्रा खेलाडीले टिमलाई अगाडि बढाउँदै छन् र झन्डा फहराउनेछन् ।’
फाइनलमा गेम चेन्जर
भारतको इनिङ्समा विराट कोहलीले अर्धशतक बनाए । उनी नै खेलको प्लेयर अफ दि म्याच घोषित भए । कोहलीले ५९ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ७६ रन बनाएका हुन् । प्रतियोगितामा उनको यो पहिलो अर्धशतक थियो । यसअघि उनी समूह चरण, सुपर एट र सेमिफाइलनमा चल्न सकेका थिएनन् । निर्णायक फाइनल खेलमा भने कोहलीले सम्हालिएको प्रदर्शन गरे । फाइनलअघि उनले जम्मा ७५ रन बनाएका थिए ।
सन् २०१० मा डेब्यु
कोहलीले सन् २०१० मा हरारेमा भएको खेलमा जिम्बाव्वेविरुद्ध डेब्यु गरेका थिए । अन्तिम खेल भने दक्षिण अफ्रिकाविरुद्ध रह्यो । एक समय कप्तान समेत रहेका कोहलीले टी–२० आईमा भारतको लागि एक सय २५ खेल खेलेका छन् । जसमा चार हजार एक सय ८८ रन बनाएका हुन् । जसमा एक सतक र ३८ अर्धतक बनाएका हुन् ।