काठमाडौं । महिला भलिबलको इतिहासमा पहिलो पटक नेपालले भारतलाई हराएको छ । काठमाण्डौमा भइरहेको काभा महिला भलिबल लिगमा नेपालले भारतलाई शनिबार ३–२ को सेटमा हराएको हो । यो जीतसँगै भारतलाई हराएर नेपालले ऐतिहासिक उपलब्धी हासिल गरेको हो ।
पहिलो सेट नेपालले २५–१८ ले जितेको थियो । दोस्रो सेटमा भारतले २५–१२ ले पुनरागमन गर्यो । तेस्रो सेट नेपालले २५–१७ ले जित्यो । चौथो सेट भारतले २५–१८ ले जितेर खेल २–२ को बराबरीमा ल्यायो । पाँचौ सेट १५–१३ ले जितेर नेपालले ऐतिहासिक उपलब्धी हासिल गरेको हो ।
नेपाली खेलाडीलाई हौसला दिन युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी लगायतका विशिष्ट व्यक्ति रङ्गशालामा पुग्नुभएको थियो । शनिबारको जीतसँगै नेपाल दुई खेलमा पाँच अङ्कसहित दोस्रो स्थानमा पुगेको छ । तीन खेल खेलेको भारत सात अङ्कसहित शीर्ष स्थानमा छ ।
पहिलो खेलमा नेपालले श्रीलङ्कालाई हराएको थियो । भारतले यसअघि इरान र भाल्दिभ्सलाई हराएको थियो । काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालसहित भारत, श्रीलङ्का, माल्दिभ्स र इरान सहभागी छन् । शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन् ।
यस्तै नेपालले आइतबार इरानसँग खेल्दैछ । खेल त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बेलुका सवा ५ बजे शुरु हुनेछ । त्यसअघि आजै दिउँसो तीन बजे श्रीलङ्का र माल्दिभ्स खेल्दैछन् ।
आजको खेलमा नेपालले इरानलाई सोझो सेट वा ३–१ को सेटमा पराजित गरेमा भारतलाई पछि पार्दै शीर्ष स्थानमा पुग्नेछ ।