बुटवल । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिग भलिबलमा नेपाल इतिहास रच्न फेरि एक पटक चुकेको छ । दशरथ रंगशाला कभर्ड हलमा बुधबार भएको फाइनल खेलमा भारतविरुद्ध २–१ सेटको अग्रता जोगाउन नसक्दा नेपालले ३–२ ले भारतलाई उपाधि सुम्पिन बाध्य भएको हो ।
यससँगै लिग चरणमा नेपालसँग भोगेको हारको बदला पनि भारतले लिन सफल भएको छ । भारतले लिग चरणमा ३–२ को सेटमा नेपालसँग हार भोगेको थियो । भारतले फाइनल खेलमा नेपाललाई २५–२३, १४–२५, २५–२२, २१–२५ र १५–५ ले हराएको छ । भारतले दोस्रो, चौथो र पाँचौँ सेट जित्दै उपाधि हात पारेको हो ।
पहिलो सेटको सुरुवातमा अग्रता बनाएको नेपालले त्यो सुरुवाती अग्रता जोगाउन सकेन । ३–० को अग्रताबाट भारतले लगातार ४ अंक जोडेपछि नेपालका प्रशिक्षक जगदिश भट्टले पहिलो टाइमआउट लिए । त्यसपछि भारतले २२–१९ को अवस्थामा अग्रता बनायो । त्यसपछि नेपालले लगातार अग्रता बनाउँदै पहिलो सेट २५–२३ ले जित्यो ।
दोस्रो सेटको सुरुवातमा भारत ६–४ ले अग्रता बनायो । त्यसपछि १०–५ ले नेपाल पछि प¥यो । नेपालले दोस्रो सेटमा ३ वटा सर्भिसमा अंक सुम्पियो । प्रदर्शनको आधारमा पनि दोस्रो सेट नेपालले निकै कमजोर खेल्यो । २४–११ मा भारतले अग्रता बनाउँदा नेपालले लगातार ३ अंक जोड्यो तर पनि नेपाल भारतभन्दा १० अंक पछाडि भयो । दोस्रो सेट नेपालले २५–१४ ले गुमायो ।
तेस्रो सेटको पनि सुरुवातमा नेपालले लगातार ३ अंक जोड्यो । भारतले ५ मा आएर बराबरमा ल्यायो । नेपालले १७–१२ को अग्रता लियो । २०–१५ मा नेपालले अग्रता लियो । तेस्रो सेट नेपालले २५–२२ले जित हात पा¥यो ।
चौथो सेटमा भारतले लगातार २ वटा सर्भिसमा गल्ती गर्दा नेपालले २ अंक ल्यायो । भारत ११–८ ले अग्रता लियो । नेपालले भारतलाई पछ्याउँदै १७–१५ को अवस्थामा खेल ल्यायो तर सेट भने २५–२१ ले भारतले जित्यो । योसँगै खेल पाँचौं सेटमा लम्बिएको हो । पाँचौं सेटमा नेपाल ८–२ ले पछि प¥यो । कोर्ट परिवर्तन गरेपछि भारतले पाँचौं सेट १५–५ मा जित्दै उपाधि जितेको हो । भारतले यसअघि २०१९ को दक्षिण एसियाली खेलकुद र २०२३ को काभा वुमन्स च्यालेन्ज कपको उपाधि हात पार्दा नेपाललाई नै जितेको थियो ।
यस्तै तेस्रो स्थानको लागि बुधबार नै भएको खेलमा इरानले श्रीलंकालाई ३–० को सोझो हराउँदै आफ्नो स्थान पक्का गरेको हो । इरानले श्रीलंकालाई २५–२२, २८–२६ र २५–१७ ले हरायो । सेमिफाइनलमा मंगलबार श्रीलंका–भारत तथा इरान नेपालसँग समान ३–० को सोझो सेटमा पराजित हुँदै बाहिरिएका थिए ।