विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको अगस्ट २०२५ को नयाँ वरीयतामा नेपाली महिला राष्ट्रिय टोलीले ऐतिहासिक फड्को मारेको छ।
१३ स्थान माथि उक्लँदै नेपाल ८७औं स्थानमा पुगेको हो। यो नेपाली महिला फुटबल इतिहासकै सर्वश्रेष्ठ वरीयता हो। यो सफलतासँगै नेपाल दक्षिण एसियामा दोस्रो स्थानमा उक्लिएको छ।
हालै सम्पन्न एएफसी महिला एसियन कप छनोटमा गरेको उत्कृष्ट प्रदर्शनका कारण नेपालको वरीयतामा यो ठूलो सुधार आएको हो।
छनोट प्रतियोगितामा नेपालले लाओसलाई ९-० र श्रीलंकालाई ८-० को फराकिलो अन्तरले पराजित गरेको थियो भने बलियो टोली उज्बेकिस्तानसँग निर्धारित समयमा ३-३ को बराबरी खेलेको थियो। यद्यपि, पेनाल्टी सुटआउटमा ४-२ ले पराजित भएसँगै नेपाल एसियन कपमा छनोट हुन भने असफल भयो।
अघिल्लो महिना १००औं स्थानमा रहेको नेपालले आफ्नो पुरानो कीर्तिमानलाई पनि तोडेको छ। यसअघि सन् २०१७ मा हासिल गरेको ९१औं स्थान नेपाली महिला टोलीको सबैभन्दा उच्च वरीयता थियो।
दक्षिण एसियाली राष्ट्रहरूमा भारत शीर्ष स्थानमा छ। भारत ७ स्थान सुधार गर्दै ६३औं स्थानमा उक्लिएको छ भने नेपाल दोस्रो स्थानमा छ। यसैगरी, बंगलादेशले यो महिना सबैभन्दा ठूलो फड्को मारेको छ। २४ स्थान माथि उक्लँदै बंगलादेश १०४औं स्थानमा पुगेको हो। भारत र बंगलादेश दुवै एसियन कपका लागि छनोट भएका छन्।
अन्य दक्षिण एसियाली देशहरूमा पाकिस्तान १५४औं, श्रीलंका १६१औं, भुटान १६३औं र माल्दिभ्स १६५औं स्थानमा रहेका छन्।
विश्व वरीयताको शीर्ष स्थानमा स्पेन छ भने अमेरिका दोस्रो, स्वीडेन तेस्रो, इंग्ल्यान्ड चौथो र जर्मनी पाँचौं स्थानमा छन्। एसियाको शीर्ष वरीयतामा जापान छ भने त्यसपछि क्रमशः उत्तर कोरिया र अस्ट्रेलिया रहेका छन्।
एसियाली वरीयतामा भारत १२औं र नेपाल १६औं स्थानमा छन्।