काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तगर्तको दोस्रो दिन सोमबार आयोजक नेपालले १५ स्वर्ण पदक जितेको छ ।
काठमाडौंमा १४ तथा पोखरामा १ गरी नेपालले सागमा औपचारिक रुपमा सूरू भएको भोलिपल्टै अर्थात आज १५ स्वर्ण पदक जितेको हो । जसमा कराते र तेक्वान्दोतर्फ समान ७-७ स्वर्ण पदक रहँदा ट्रायथलनतर्फ पनि नेपालले एक स्वर्ण जितेको छ ।
सागमा पहिलो पटक समावेश करातेतर्फ नेपालले दुई रजत पदक जित्दा तेक्वान्दोतर्फ नेपालले एक रजत पदक जितेको छ ।
सातदोबाटोस्थित कराते हलमा सोमबार भएका नौ स्पर्धामध्ये नेपाल सात स्पर्धामा स्वर्ण जित्न सफल हुँदा नेपालका लागि पहिलो स्वर्ण पदक मण्डेकाजी श्रेष्ठले दिलाए ।
उनले पुरुषतर्फको एकल कातामा पाकिस्तानका नियामाहतुल्लाहलाई उछिन्दै स्वर्णपदक जिते । उनी सम्मलित टिम कातातर्फ पनि नेपालले स्वर्ण जितेको थियो । मन्डेसँगै महसुस तामाङ र प्रविन महराले श्रीलंकालाई पछि पार्दै स्वर्ण जितेको हो ।
महिला सिनियरमा टिम कातातर्फ सरु कार्की, निर्मला तामाङ र संगिता मगर सम्मलित टोलीले पाकिस्तानलाई हराउँदै स्वर्ण जितेको हो ।
यस्तै करातेतर्फ ५५ केजीतौल समूहमुनि नेपालका लक्ष्मण तामाङले मोहम्मद रमजानलाई हराउँदै स्वर्ण जिते । ८५ केजीमाथिको तौल समूहमा नेपालका विप्लबलाल श्रेष्ठले पाकिस्तानका मोहम्मद बाजलाई उछिन्दै स्वर्ण जिते ।
४५ केजीमुनि तौल समूहमा नेपालकी कुसुम खड्काले बंगलादेशकी मौन्जेरा बोर्नालाई पराजित गर्दै स्वर्ण जितिन् । यस्तै ५० केजीमुनि तौल समूहमा श्रीलंकाकी डोमाथि एकतर्फ ८-० को स्कोर बनाउँदै नेपालकी अनु अधिकारीले करातेलाई ७ औं स्वर्ण जिताएकी हुन् ।
यस्तै रजत पदक दिवश श्रेष्ठ र चन्चला दुनुवारले जिते । यता तेक्वान्दोतर्फ सोमबार नै भएको पुम्से स्पर्धामा गोबिन्द बहादुर आलेले पहिलो स्वर्ण पदक जितेका थिए ।
सिना लिम्बुले स्वर्ण जित्दा पार्बती गुरुङ, आयशा शाक्यले पनि स्वर्ण जिते । टिम इभेन्टमा आयशा र सन्जित कुमार ओझाले स्वर्ण जिते । २३ वर्षमुनिको महिला टिम इभेन्टमा निशा दर्नाल, स्वस्तीका तामाङ, सन्जिला तिमिल्सेनाले स्वर्ण जिते ।
२३ वर्षमाथिको महिला टिम इभेन्टमा निता गुरुङ, प्रनाशा क्षेत्री र सुसिला राईले स्वर्ण जिते ।
उता पोखरामा भएको ट्रायथलनतर्फ सोनी गुरुङले स्वर्ण जित्दा बसन्त थारुले रजत पदक जिते ।