दाङ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट टि–२० प्रतियोगितामा लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको पहिलो खेलमा प्रदेश नम्बर २ लाई ९ विकेटले हराउँदै लुम्बिनीले जितको सुरुवात गरेको हो ।
जितका लागि ७८ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले १६ दशमलब १ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको छ । लुम्बिनीकी गिता गोसाई ४२ बलमा २ चौका सहित २३ रन बनाउँदैं नटआउट रहिन् । कप्तान नेरी थापा १३ बलमा २ चौका सहित १५ रनमा अविजित रहिन् ।
पहिलो विकेटका लागि गिता गोसाई र सरस्वती घर्ती मगरले १२ ओभरमा ५३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । सरस्वतीलाई कविता गौतमले २२ रनमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाएकी थिइन् । उनले ४२ बलमा १ चौका प्रहार गरिन् । प्रदेश २ की मध्य गतिकी बलर कविता गौतमले १ विकेट लिइन् । अन्यले विकेट लिन सकेनन् ।
त्यसअघि लमहीको देउखुरी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको प्रदेश नम्बर २ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७७ रन बनाएको थियो । प्रदेश २ का लागि ओपनर सना प्रविन र अनु चौधरीले सर्वाधिक २१–२१ रनको योगदान दिएका थिए ।
स्पिनर गिता गोसाईको १३ औं ओभरको चौथो बलमा अघि सेरर सट खेल्नेक्रममा अनुराधा विकेटकिपर नितुबाट स्टम्पिङ हुन पुगेकी थिइन् । उनले ४१ बलमा १ चौका प्रहार गरिन् । १९ औ ओभरको अन्तिम बलमा बिमला मगरलाई सुस्मिताले १० रनमा एलबिडब्लू आउट गरिन् । उनले १४ बलमा १ चौका प्रहार गरिन् ।
लुम्बिनीकी सुस्मिता भुषालले ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिइन् । स्वस्तिका बजागाईंले ४ ओभरमा १७ रन खर्चेर १ विकेट लिइन् । स्पिनर गिता गोसाईको नाममा १ विकेट लिइन् ।
दोस्रो खेलमा लुम्बिनीले आइतबार कर्णाली प्रदेशविरुद्ध खेल्ने छ । आइतबार प्रदेश नम्बर २ ले एपिएफसँग खेल्ने छ । आज दोस्रो खेलमा एपिएफले कर्णालीको सामना गर्दैछ ।