दाङ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगितामा शनिबार दिउँसो भएको दोस्रो खेलमा विभागीय टोली एपिएफले कर्णाली प्रदेशलाई २ सय ३६ रनको विशाल लक्ष्य दिएको छ ।
देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको एपिएफले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ३५ रन बनाएको हो ।
एपिएफकी कप्तान सीता राना मगरले ५९ बलमा ८ चौकासहित सर्वाधिक ६८ रनको योगदान दिइन् । त्यस्तै सरिता मगर ३४ बलमा ६ चौका सहित ४४ रनमा अविजित रहिन् ।
एपिएफलाई ओपनर ज्योती पान्डे र सीता रानामगरले ८.३ ओभरमा ९७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । स्पिनर निशा पराजुलीले अंशु शाक्यबाट क्याच गराउँदै पहिलो सफलता दिलाएकी थिइन् । ज्योतीले ३० बलमा ३ चौका सहित ३२ रन जोडीन् । दोस्रो विकेटका लागि सीता र सरिताले ९९ रनको साझेदारी गरेका थिए ।
सीतालाई १८ औं ओभरको चौथो बलमा अञ्जु गुरुङले बोल्ड आउट गरिन् । ईन्दु बर्मा १२ बलमा ४ चौका सहित २२ रन जोड्दै क्याच आउट भइन् । इन्दुलाई दीक्षा पुरीले कप्तान लक्ष्मी रिमालबाट अन्तिम ओभरको तेस्रो बलमा क्याच आउट गराएकी थिइन् । ममता चौधरी २ रनमा आउट भइन् ।
कर्णालीको फिल्डिङ निकै कमजोर देखिएको थियो । कर्णाली महिला खेलाडीले एक्स्ट्रा ६७ रन खर्चेका थिए । ४१ वाइड र १८ नो बल फालेका थिए । बलिङ र फिल्डिङ दुबै कमजोर देखिएको थियो । कर्णालीकी दीक्षा पुरीले ४ ओभरमा ४२ रन खर्चेर २ विकेट लिइन् । निशा पराजुली र अन्जु गुरुङले पनि १–१ विकेट लिइन् । विशाल लक्ष्य भेट्टाउन कर्णाली प्रदेश अहिले ब्याटिङमा छ ।