दाङ । दाङको लमहीमा जारी प्रधामन्त्री कप राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगीता अन्तर्गत बुधबार भएको खेलमा बागमती प्रदेश र प्रदेश १ ले जीत हासिल गरेका छन् । पहिलो खेलमा प्रदेश १ ले सुदुर पश्चिमलाई ५ विकेटले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ भने आजै भएको दोस्रो खेलमा बागमतीले गण्डकीलाई ६५ रनले पराजित गर्दै सेमिफाइनल पुग्ने सम्भावना जीवित राखेको छ ।
दोस्रो खेलमा जितका लागि १ सय ५४ रनको विजयी लक्ष्य पछ्याएका गण्डकीले २० ओभरमा ५ विकेट गुमाउँदै ८८ रन बनायो । गण्डकी कप्तान शीला रेग्मी क्षेत्री ५० बलमा १ चौका सहित २६ रनमा स्टम्पिङ आउट हुन पुगिन् । सृष्टि पौडेल ४४ बलमा २ चौका सहित ३० रनमा क्याच आउट भइन् । चौथो ओभरको पहिलो बलमा सुमन खतिवडाले ओपनर पुर्णता शाहीलाई २ रनमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाइन् । पाँचौं ओभरको पाँचौं बलमा प्रमिला बानियाँलाई कप्तान अस्मिना कर्मचार्यले २ रनमा बोल्ड आउट गरिन् ।
तेस्रो विकेटका लागि शीला र सृष्टिले ६० रनको साझेदारी गरिन । निसा तामाङको १७ औं ओभरको पाँचौ बलमा ठूलो सट खेल्नेक्रममा सृष्टि विन्दा कटवालबाट क्याच आउट भइन् । निसा तामाङ, आरती बिडारी, सुमन खतिवडा र अस्मिना कर्मचार्यले १–१ विकेट लिइन् । त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको बागमतीले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५३ रन बनाइन् । बागमतीकी ओपनर विन्दा कटवालले ५८ बलमा ३ चौका सहित सर्वाधिक ३८ रनको योगदान दिइन । विन्दाको यो राष्ट्रिय प्रतियोगितामा डेब्यू खेल हो । युवा अलराउन्डर सुमन खतिवडाले २६ बलमा ४ चौका सहित ३१ रनको योगदान दिइन् ।
बागमतीले गण्डकीविरुद्ध ओपनिङ जोडीलाई परिवर्तन गर्दै अस्मिता खरेलको स्थानमा विन्दालाई ओपनिङ पठाएको थियो । ओपनर विन्दा र कन्चन श्रेष्ठले पहिलो विकेटका लागि १०।२ ओभरका लागि ७६ रनको साझेदारी गर्दै राम्रो सुरुवात गरिन् । अन्चन विन्दासँग राम्रो तालमेल गर्न नसक्दा २७ रनमा रन आउट हुन पुगिन् । कन्चनले २९ बलमा १ चौका प्रहार गरिन् । १८ औं ओभरमा एलिसा लामिछानेले सुमन र विन्दालाई आउट गरिन् । चौथो बलमा सुमन एलबिडब्लू आउट हुन पुगीन । लगत्तै अर्को बलमा विन्दा अन्जली विश्वकर्माबाट क्याच आउट भइन् । आरती बिडारी ६ बलमा २ चौका सहित १० रनमा अविजित रहिन् । कप्तान अस्मिना कर्माचार्य ८ रनमा रन आउट भइन् । एलिसा लामिछानेले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिइन् । गण्डकीका अन्य ६ बलर भने विकेट बिहिन रह्यो । समूह बी मा सुरुवाती दुबै खेलमा जित निकाल्दै ४ अंक जोडेको प्रदेश १ सेमिफाइनलमा पुगेको छ । सुरुवाती दुई खेलमा १–१ खेल जितेका सुदूरपश्चिम र बागमतीको २–२ अंक छ । सुरुवाती दुबै खेल हारेको गण्डकी सेमिफाइनल यात्राबाट बाहिरिएको छ ।
बिहिबार समूह बी का अन्तिम दुई खेलले समूह विजेता र उप विजेता निर्धारण गर्ने छ । पहिलो खेलमा हुने सुदूरपश्चिम र बागमतीबीच हुने खेलको विजेता सेमिफाइनमा पुग्ने छन् । दोस्रो खेलमा प्रदेश १ र गण्डकी खेल्ने छन् । समूह ए बाट एपिएफ विजेता र लुम्बिनी समूह उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरि सकेका छन् । सेमिफाइनल पुस १८ र फाइनल पुस १९ मा हुने छ ।
प्रदेश १ को लगातार जीत
प्रदेश १ ले दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । प्रतियोगितामा लगातार दोस्रो जित हासिल गर्ने क्रममा प्रदेश १ ले बुधबार दिनको पहिलो खेलमा सुदुर पश्चिमलाई ५ विकेटले पराजित गर्यो ।
खेलमा सुदुर पश्चिमले प्रस्तुत गरेको ५४ रनको सामान्य लक्ष्यलाई प्रदेश १ ले १५।१ ओभरमा ५ विकेट गुमाएर पूरा ग¥यो । टिमले संघर्षमय जित हासिल गर्ने क्रममा कप्तान रुविना क्षेत्रीले १२ रन र अप्सरी बेगमले ९ रन बनाइन । निग्मा तामाङले अविजित रहदै ७ रनको योगदान दिइन् ।
बलिङतर्फ सुदुर पश्चिमका लागि दिपा जोराले २ तथा कविता कुवँर र कविता जोशीले १–१ विकेट लिइन् । त्यसअघि देउखुरी क्रिकेट मैदानमा खराब मौसमका कारण १६ ओभरमा घटाईएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदुर पश्चिमले निर्धारित पूरै ओभर खेल्दै ८ विकेट गुमाएर ५३ रन बनाएको थियो । सुरुवात देखि खराब ब्याटिङ गरेको सुदुर पश्चिमका लागि कविता जोशी बाहेक अन्य खेलाडीले दोहोरो अंक समेत जोड्न सकेनन् । टिमका लागि सर्वाधिक ठूलो पारी खेलेकी उनले अविजित रहदै १४ रन बनाइन भने ओपनर ब्याटर रेवती धामीले ८ रन र लक्ष्मी साउदले अविजित रहदै ९ रनको योगदान गरिन् ।
बलिङतर्फ प्रदेश १ का लागि संगिता राईले उत्कृष्ट बलिङ गरिन । आफ्नो स्पेलको ४ ओभर पूरै बलिङ गरेकी उनले मात्र १० रन खर्चिएर ३ विकेट हात पारिन । यस्तै शबनम राईले २ विकेट लिदा कप्तान रुविना क्षेत्री र निग्मा तामाङ पनि १–१ विकेट हात पारे । यसअघि समूह बी मा रहेको प्रदेश १ ले पहिलो खेलमा बागमतीलाई ४६ रनले पराजित गरेको थियो । सुदुर पश्चिमको यो पहिलो हार हो । सुदुर पश्चिमले पहिलो खेलमा गण्डकी प्रदेशलाई ५९ रनले पराजित गरेको थियो ।