दाङ । दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा समूहचरणका खेलहरु सकिएका छन् । विहीबार समूह चरणको अन्तिम खेलमा प्रदेश १ ले गण्डकी प्रदेशलाई १ सय ४० रनले पराजित गरेको छ । योसँगै प्रतियोगिताको सेमिफाइनलको समिकरण पूरा भएको हो ।
खेलमा प्रदेश १ ले प्रस्तुत गरेको १ सय ४८ रनको विजयी लक्ष्यलाई पछ्याएको गण्डकीले निकै खराब ब्याटिङ गर्ने क्रममा ८ ओभरमा आफ्नो सबै विकेट गुमाएर मात्र ७ रन बनायो । उसका लागि कुसुम गोदार र सोनिया थापाले २÷२ रन बनाउनु बाहेक अन्य खेलाडीले खाता खोल्न समेत सकेनन् ।
बलिङतर्फ प्रदेश १ का लागि संगीता राई एक्लैले ५ विकेट हात पारिन् । आफ्नो स्पेलको ४ ओभर पूरै बलिङ गरेकी उनले मात्र ३ रन खर्चिएर उक्त विकेट लिन सफल भएकी थिइन् । यस्तै शबनम राईले ४ विकेट र अप्सरी बेगमले पनि १ विकेट लिएकी थिइन् ।
त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभर पूरै खेल्दै मात्र १ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो । टिमले विशाल योगफल बनाउने क्रममा उसका लागि ओपनर ब्याटर काजल श्रेष्ठ र रोमा थापाले अर्धशतकीय पारी खेलेका थिए । जस अन्तर्गत अविजित रहेकी काजलले ५७ बलमा ४ चौकासहित ५२ रनको योगदान गरिन् । यस्तै उनलाई साथ दिएकी रोमाले पनि अविजित रहदै ४९ बलमा ८ चौकासहित ५१ रन बनाइन् ।
त्यसअघि ६.४ ओभरमा टिमको स्कोर ३६ रन हुँदा कुसुम गोदारको बलमा आउट हुन् पुगेकी कप्तान रुविना क्षेत्रीले १५ रनको योगदान गरेकी थिइन् ।
सुदूरपश्चिम पनि सेमिफाइनलमा
स्पिनर कविता जोशीले ह्याट्रिक सहित घातक बलिङ गर्दै पाँच विकेट लिएसँगै बागमतीलाई हराउँदै सुदूरपश्चिम लमहीमा जारी राष्ट्रिय क्रिकेट प्रतियोगितामा समूह बी बाट सेमिफाइनलमा प्रवेश गरेको छ ।
सुदूरपश्चिमले आफ्नो समूह चरणको अन्तिम खेलमा बागमतीलाई २८ रनले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । जितका लागि ७७ रनको विजयी लक्ष्य पछ्याएको बागमती निर्धारित ११ ओभरमा ९ विकेट गुमाउँदै ४८ रन बनाए । बागमतीकी युवा अलराउन्डर सुमन खतिवडाले २८ बलमा ४ चौका सहित सर्वाधिक २७ रन जोडेपनि जिताउन सकिनन् । सुदूरपश्चिमलाई सेमिफाइनलमा पुर्याउन कविता जोशीले नवौं ओभरमा ह्याट्रिक सहित चार विकेट लिदै जित सहज बनाइन् । बागमतीका ७ ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
कविता कुवँरले पहिलो ओभरको दोस्रो बलमै ओपनर कन्चन श्रेष्ठलाई शून्यमा बोल्ड आउट गरेकी थिइन् । पाँचौ ओभरको तेस्रो बलमा स्पिनर कविता जोशीको बलमा विन्दा कटवाल ७ रनमा विन्दु रावलबाट क्याच आउट हुन पुगिन् । छैटौं ओभरको चौथो बलमा ऋतु कनौजियाले हेलिसा गुरुङलाई शून्यमा बोल्ड आउट गरिन् ।
कविता जोशीको नवौं ओभरको दोस्रो बलमा ठूलो सट खेलेकी सुमन लङ अनमा कप्तान विन्दु रावलले क्याच लिएपछि बागमतीको जितको सम्भावना टाढिएको थियो । अर्को बलमा जोशीले अनिसा मजाकोटीलाई शून्यमा बोल्ट आउट गरिन् । चौथो बलमा क्यानुका बस्नेतलाई एलबिडब्लू आउट गर्दै ह्याट्रिक पूरा गरिन् ।
अन्तिम बलमा कविताले खुशी डंगोललाई एलबिडब्लू आउट गर्दै ब्यक्तिगत पाँच विकेट पूरा गरिन् । सुजिता थापा शून्य र आरती बिडारी ३ रनमा आउट भइन् । कविता जोशीले २ ओभरमा १० रन खर्चेर ५ विकेट लिइन् ।
त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित ११ ओभरमा ४ विकेट गुमाउँदै ७६ रन बनाए । सुदूरपश्चिमकी डली भट्ट १४ बलमा २ चौका र २ छक्का सहित सर्वाधिक २८ रन अविजित रहिन् ।
डलीलाई ११ औं ओभरको पहिलो बलमा कप्तान अस्मिना कर्मचार्यल बोल्ड आउट गरेपनि नो बलका कारण जीवनदान पाएकी थिइन् । व्यक्तिगत १५ रनमा आउट भएर पेभिलिएन तर्फ फर्केकी डलीले त्यसपछि तेस्रो बलमा चौका र चौथो बलमा छक्का प्रहार गर्दै टोलीलाई बलियो योगफलमा पुर्याइन् ।
तेस्रो ओभरको चौथो बलमा स्पिनर निशा तामाङले ओपनर रेवती धामीलाई २ रनमा एलबिडब्लू आउट गर्दै पहिलो सफलता दिलाइन् । छैटौं ओभरको दोस्रो बलमा स्पिनर आरती बिडारीको बलमा ओपनर मन्जु बोगटी ५ रनमा एलबिडब्लू आउट हुन पुगिन् ।
लगत्तै अर्को बलमा कप्तान विन्दु रावल कट एण्ड बोल्ड भइन् आउट भएकी थिइन् । ह्याट्रिक बलको सामना गरेकी कविता जोशीले डीप मिडविकेटमा उत्कृष्ट छक्का प्रहार गरेकी थिइन् । आरतीलेनै नवौं ओभरको दोस्रो बलमा कवितालाई सुजिता थापाबाट १२ रनमा क्याच आउट गराइन् । जोशीले १२ बलमा १ छक्का प्रहार गरिन् ।
कविता कुवँर ३० बलमा १ चौका सहित १९ रनमा अविजित रहिन् । स्पिनर आरती विडारीले २ ओभरमा १३ रन खर्चेर ३ विकेट लिइन् । निसा तामाङले १ विकेट लिइन् ।
शनिबार हुने प्रतियोगिताको सेमिफाइनलमा समूह ‘ए’को विजेता विभागीय टोली एपीएफले समूह ‘बी’को उप–विजेता सुदूर पश्चिमसँग खेल्नेछ । दोस्रो खेलमा समूह ‘बी’को विजेता प्रदेश १ ले समूह ‘ए’ को उपविजेता लुम्बिनी प्रदेशसँग खेल्नेछ । प्रतियोगिताको फाइनल खेल आईतबार हुनेछ ।
यता प्रतियोगिताको विजेताले नगद ५ लाख प्राप्त गर्नेछ । उप–विजेता टोलीले ३ लाख त्यसैगरी सेमिफाइनलबाट बाहिरिएका दुई टोलीले समान २५ हजार प्राप्त गर्नेछन् । यस्तै विधागततर्फ सर्वोउत्कृष्ट खेलाडीले २१ हजार, उत्कृष्ट ब्याटरले १० हजार, उत्कृष्ट बलरले ५ हजार प्राप्त गर्नेछन् ।