दाङ । एपिएफ विभागिय टोली लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता फाइनलमा पुगेको छ । शनिबार भएको पहिलो सेमिफाइनल खेलमा एपिएफले सुदूरपश्चिमलाई ९ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।
जितका लागि ६१ रनको विजयी लक्ष्य पछ्याएको एपिएफले १५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । ओपनर ज्योती पान्डे ३८ बलमा १ चौका सहित २६ रनमा अविजित रहिन् । सरिता मगर ३५ बलमा १ चौका सहित १९ रनमा अविजित रहिन् । कप्तान सीता राना मगर ७ रनमा आउट भइन् । कविता कुवँरले १ विकेट लिइन् ।
त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित १६ ओभरमा विकेट ७ गुमाउँदै ६० रन बनाएको थियो । सुदूरपश्चिमकी कविता जोशी २१ बलमा २ चौका सहित सर्वाधिक २२ रनमा अविजित रहिन् । लक्ष्मी साउँद ३ रनमा अविजित रहिन् ।
सातौं ओभरको तेस्रो बलमा ओपनर कविता कुवँरलाई स्पिनर करुणा भण्डारीले विकेटकिपर ज्योती पान्डेबाट क्याच गराउँदै पहिलो सफलता दिलाएकी थिइन् । कविताले २५ बलमा ९ रन जोडिन् । नवौं ओभरको पाँचौं बलमा ऋतु कनौजिया ४ रनमा रन आउट हुन पुगिन् ।
लगत्तै अर्को बलमा ओपनर रेवती धामीलाई करुणाले १२ रनमा एलबिडब्लू आउट गरेपछि सुदूरपश्चिम दबाबमा परेको थियो । विन्दु रावललाई सीता राना मगरले शून्यमा बोल्ड आउट गरेकी थिइन् । करुणा भण्डारीले ११ औं ओभरको तेस्रो बलमा रुवि पोद्दरलाई १ रनमा बोल्ड आउट गरेपछि सुदूरपश्चिम ३९–५ को अवस्थामा पुगेको थियो ।
सोमु विष्टको १३ औं ओभरको पहिलो बलमा डली भट्ट दुई रन लिनेक्रममा कविता जोशीसँग तालमेल गर्न नसक्दा शून्यमा रन आउट भएपछि बलियो योगफल टाढिएको थियो । सम्झना खड्का ३ रनमा रन आउट भइन् । सुदुरपश्चिमका तीन ब्याटर रन आउट भएका थिए । एपिएफकी स्पिनर करुणा भण्डारीले ४ ओभरमा ११ रन खर्चेर ३ विकेट लिइन् । कप्तान सीता राना मगरको नाममा एक विकेट रह्यो ।
एपिएफले उपाधिको लागि आइतबार दोस्रो सेमिफाइनलको विजेतासँग खेल्ने छ । दोस्रो सेमिफाइनलमा आजनै लुम्बिनी र प्रदेश १ भिड्ने छन् ।