बुटवल- रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १ स्थित जीतगढी किल्लामा नेपाली फौजले प्रदर्शन गरेको वीरताको स्मरण गर्दै नेपाली सेनाले बुटवलमा विजय दौड प्रतियोगिता आयोजना गर्ने भएको छ।
मध्यपश्चिम पृतना हेडक्वार्टर, बुटवलले आज आयोजना गरेको पत्रकार भेटघाटमा महासेनानी मच्छिन्द्र थापाले अङ्ग्रेजहरु परास्त भएको गढी वीरतापूर्ण सैनिक इतिहास र स्वाभिमानी नेपालीको प्रतीक भएको बताउँदै राष्ट्रिय एकता दिवसका अवरमा सेनाले यही पुस २५ गते २१ किलोमिटर हाफ म्याराथुन र पाँच किलोमिटर वाकाथुनको आयोजना गर्ने जानकारी दिए।
हाफ म्याराथुन बुटवल बहुमुखी क्याम्पसबाट शुरु भई योगीकुटी हुँदै ड्राइभर टोलबाट फिर्ता भएर लुम्विनी अस्पताल, पुरानो बसपार्क हुदै जीतगढीमा समाप्त हुने छ। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने महिला तथा पुरुष खेलाडीलाई नगद पुरस्कार क्रमशः रु १५ हजार, १० हजार र रु पाँच हजारसहित पदक र प्रमाणपत्र दिइने छ ।
क्याम्पस अगाडिबाट शुरु हुने वाकाथुन ट्राफिक चोक, चौराहा, योगीकुटीबाट फिर्ता भएर लुम्विनी अस्पताल, पुरानो वसपार्क हुदै जीतगढीमा समाप्त हुनेछ। प्रतियोगितामा नेपाली सैनिकलगायत करीब सय खेलाडीको सहभागिता रहने छ। विभिन्न शोधकर्ता र इतिहासविद् र पर्यटनका लागि जीतगढी किल्ला महत्वपूर्ण मानिएको छ। नेपाल र अङ्ग्रेजबीच सन् १८१४ देखि १८१६ सम्म भएको युद्धमा नेपाली फौजले अङ्ग्रेज फौजलाई परास्त गरेको थियो । रासस