मदन भण्डारी स्पोर्टस् ऐकेडेमी बुटवल उप–महानगर कमिटीले मंगलबार बुटवलमा पाँचौँ बटौली ५००० अन्तर मावि दौड छात्रछात्रा प्रतियोगिता गर्दैछ । खेल र खेलाडीको पक्षमा निरन्तर काम गर्दै अगाडि बढेको स्पोर्टस् एकेडेमी स्थापना भएको ११ वर्षमा प्रवेश गरेको छ । प्रतियोगिताको तयारी पूरा भएको मदन भण्डारी स्पोर्टस् एकेडेमी बुटवल उप–महानगर कमिटीका अध्यक्ष समुन्द्र श्रेष्ठले जानकारी गराएका छन् । यसै सन्दर्भमा रहेछ उनीसँग छोटो कुराकानी गरिएको छ । प्रस्तुत छ, श्रेष्ठसँग गरिएको कुराकानीको सारसंक्षेप ।
विगत चार वर्षदेखि लगातार तपाईंहरू यो प्रतियोगिता गर्दै आउनुभएको छ । प्रतियोगिताको खास उद्देश्य के हो ?
हाम्रो संस्था मदन भण्डारी स्पोर्टस् ऐकेडेमी नै खेलकूद कार्यक्रम गर्ने उद्देश्यका साथ स्थापना भएको हो । खेलकूदलाई जीवनको अभिन्न अंग बनाउने हाम्रो उद्देश्य हो । यसले आत्मियता बढाउँछ, मित्रता कायम गर्छ, दक्ष खेलाडी उत्पादन गर्छ । हामीले यो प्रतियोगितालाई निरन्तरता दिँदै जानेछौँ ।
दौड प्रतियोगितामा कति विद्यार्थीहरूको सहभागिता रहन्छ ?
प्रतियोगितामा अहिलेसम्म २ सय ५० जना प्रतिस्पर्धीले सहभागिता जनाउने हामीसँग नाम दर्ता गराएका छन् । यसबाहेक अन्य प्रतिस्पर्धा विद्यार्थीहरू पनि थप हुने सक्ने हाम्रो अनुमान छ ।
दौड प्रतियोगिता नै रोज्नुको कारण के हो ?
दौडको प्रतिस्पर्धालाई धेरै अभ्यास र अरु सामग्री चाहिँदैन । सबै विद्यार्थीहरूले सहभागिता जनाउन सक्छन् । त्यसैले हामीले सम्पूर्ण विद्यार्थीहरूको सहजताका लागि दौड प्रतियोगिता नैं रोजेका हौं ।
अरू विधाका प्रतियोगिता के–के छन् ?
एकेडेमीले आर्थिक तथा अन्य समस्याका बाबजुत पनि सबैलाई खेलप्रति जागरूक गर्ने उद्देश्यले दौड प्रतियोगिताबाट आफ्नो खेल, खेलाडी अभियानलाई अग्रता दिइएको हो । दौड प्रतियोगितालगत्तै मदन भण्डारी अन्तरमावि फुटसल प्रतियोगिता पनि राखेका छौं । विभिन्न सामाजिक कार्यहरु रक्तदान, आश्रमलाई सहयोग लगायतका कार्यक्रम पनि राखेका छौं ।
प्रतियोगिताको उद्घाटन कसले गर्दै छ ?
प्रतियोगिताको बुटवल उप–महानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उद्घाटन गर्ने कार्यक्रम छ । मंगलबार बिहान ठीक सात ३० बजे बुटवल योगिकुटीमा प्रमुख अतिथिले रिबन काटेर उद्घाटन गर्नुहुन्छ । उद्घाटनपछि ट्राफिकचोकमा बिजेता खेलाडीहरूलाई पुरस्कार तथा सम्मान गर्ने कार्यक्रम छ ।
प्रतियोगितामा विजेता खेलाडीले कति पुरस्कार पाउँछन् ?
हामीले दौडतर्फ प्रथम पुरस्कार छात्रछात्रातर्फ ११ हजार १ सय ११ रुपैयाँ राखेका छौँ । त्यस्तै दोस्रो रु. ६ हजार ६ सय ६६ र तेस्रो हुनेलाई ४ हजार ४ सय ४४ रुपैयाँ नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै फुटसल प्रतियोगितमा प्रथम हुनेलाई २४ हजार, दोस्रोलाई रु. १२ हजार र उत्कृष्ट खेलाडीलाई २४ सय रुपैयाँ नगद कप र मेडल र प्रमाणपत्र पुरस्कार दिँदैछौं ।
अन्त्यमा के भन्न चाहनुहुन्छ ?
बाल्यकालदेखि नै सुरू हुने खेललाई हामीले भुल्दै गएका छौँ । यसको असर वृद्ध अवस्थामा पार्दैछ । हामी जुनसुकै शारीरिक अभ्यासलाई खेलको रूपमा परिभाषित गर्दछौँ । खेल नै शारीरिक व्यायाम हो । हामीले कुनै पनि कार्य गर्दा व्यायाम हुन्छ । त्यसैले दौड पनि एक शारीरिक व्यायामका रूपमा हामीले लियौँ र दोस्रो पटक प्रतियोगिताको आयोजना गरेका हौँ ।