बुटवल। बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा माघ २ गते देखि सुरुभएको प्रथम नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ को सोमबार शुरु भएको छ ।
उपमहानगरपालिका वडा नं. ११ स्थित फिफा टेक्निकल सेन्टरमा रहेको रंगशालामा प्रमुख शिवराज सुवेदीले प्रतियोगिताको उद्घाटन गरे ।
प्रतियोगिताको उद्घाटन गर्दै बुटवल उपमहानगर पालिकाका नगर प्रमुख शिवराज सुवेदीले समृद्धिको एउटा आधारका रुपमा खेलकुदलाई लिइएको बताए । बुटवलका सबै वडामा खेलकुदका लागि पूर्वाधार निर्माण, प्रतिभा छनौट तथा उपयुक्त अवसरको सिर्जना गरिएको बताउँदै नगर प्रमुख सुवेदीले खेलकुदलाई
प्राथमिकतामा राखिएको बताए ।
सो अवसरमा प्रमुख सुवेदीले भलिवलका रेफ्रिहरुलाई बल हस्तान्तरण गर्दै भलिवल खेल शुभारम्भ गराएका थिए । यस्तै उपप्रमुख गुमादेवी आचार्यले कबड्डी खेलका रेफ्रीलाई सामान हस्तान्तरण गर्दै कबड्डी खेलको शुभारम्भ गराईन् ।
शुभारम्भका अवसरमा कालिका मानवज्ञान माविका प्रअ घनश्याम पाठक, मदरल्याण्ड स्कुलका प्राचार्य मणिरत्न भण्डारी, भलिवल खेलका संयोजक नवीन थापा सारुले शुभकामना व्यक्त गरे । कार्यक्रममा सञ्चालन खेलकुद विकास समितिका सदस्य तथा जारी प्रतियोगिताका सदस्य सचिव प्रेमबहादुर बस्नेतले गरेका थिए ।
माघ २ देखि नै विभिन्न खेलकुदहरु भइरहेका थिए । प्रतियोगिता प्रतिकुल मौसमका कारण २ गते प्रतियोगिता संचालन भएपनि दोस्रो दिनदेखि प्रतियोगिता स्थगित गरिएको थियो । बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा एन्फा टेक्निकल सेन्टर देबिनगरमा जारी रहेको प्रतियोगितामा उपमहानगरका सामुदायिक र संस्थागत गरी २५ विद्यालयको सहभागिता रहेको
उपमहानगरका प्रेस सल्लाहकार तथा प्रचार–प्रसार समितिका संयोजक अमृत गिरीले जानकारी दिए ।
प्रतियोगितामा सोमबार विशेष मार्चपास र झाँकीहरु प्रदर्शन भएका थिए । ८ गतेसम्म आयोजना हुने प्रतियोगिताले विद्यालयस्तरमा रहेका प्रतिभालाई खेलमार्फत छनौट गरि उत्कृष्ट खेलाडीहरुलाई जिल्लामा सहभागिता पाउने आयोजक समितिका अध्यक्ष नन्दबहादुर काउचाले बताए ।
यसैगरि भलिबल, कबड्डी तथा मार्शल आर्टतर्फ कराते, तेक्वान्दो, उसु जिल्ला मार्फत छनौट खेलहरु भइरहेको जानकारी दिंदै समितिका सदस्य प्रेमबहादुर बस्नेतले सोमबारसम्म एथ्लेटिक्सतर्फका १६ सहित कुल २२ वटा खेलहरु सम्पन्न भएको जानकारी दिए । अब बाँकी १० वटा इभेन्टमा खेलहरु सञ्चालन हुनेछन् ।
प्रतियोगितामा ४८ वटा ईभेन्टमा २ सय ५८ वटा पदकका लागि विद्यार्थीहरुले भाग लिइरहेका छन् । नगरभित्रका सामुदायिक र नीजि गरि २४ वटा विद्यालयका करीब छ सय खेलाडीहरुको सहभागिता रहेको अध्यक्ष काउचाले बताए ।
सहभागी सबै बिद्यार्थीले शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् भने उत्कृष्ट खेलाडीहरुलाई जिल्ला स्तरमा सहभागि गराइने र त्यसपछि प्रदेशमा सहभागिता पाउनेछन् ।