सन २०२२ को विश्वकपलाई लक्षित गरेर कतारमा योनी जस्तो आकारको अल वक्राह रंगशाला निर्माण गरिएको छ। विश्वकप आयोजना सुरु भएको ९२ वर्षपछि पहिलो पटक खाडीमा प्रतियोगिता हुने भएपछि सबैलाई आर्कषित गर्न कतारले नयाँ स्वरुपको रंगशाला निर्माण गरेको हो ।
अल वक्राह नाम दिइएको रंगशाला झट्ट हेर्दा योनी झैं देखिन्छ। विश्वकप आयोजना हुनुभन्दा ३ वर्ष अघि नै अर्थात १६ मे २०१९ मा यो रंगशाला अनावरण गरिएको थियो। यो रंगशालामा उदघाटन देखि क्वाटरफाइनलसम्मको खेल आयोजना गरिनेछ। कतारको तापक्रमलाई ध्यानमा राखेर रंगशालामा ४० हजार दर्शकका लागि एयर कन्डिसनरको प्रयोग गरिएको छ।
रंगशालाको डिजाइन स्व वृटिस–इराकी आर्किटेक्टर डेम जहाँ हदिदले गरेकी थिइन्। रंगशाला निर्माण नसकिँदै ६५ वर्षको उमेरमा सन २०१६ मा उनको निधन भयो। कतारले विश्वकप आयोजनाको छानिएको ३ वर्षपछि सन २०१३ मा रंगशाला निर्माणको परिकल्पना गरिएको थियो।
परम्परागत रुपमा अरबीहरुले माछा मार्न र मोती खोज्न प्रयोग गरिने डुङ्गालाई हेरेर रंगशालाको डिजाइन भएको थियो। तर नक्सा सार्वजनिक भएपछि टिप्पणीकर्ताहरुले महिलाको गोप्य अंगको रुपमा चित्रित गरेपछि रंगशाला भाइरल भएको थियो।
तत्कालीन समयमा आर्किटेक्चर डेम जहाले टिप्पणीहरुकाबाट असन्तुष्ट हुँदै भनिन्‚ ‘उनीहरु अत्यन्त मुर्ख छन् की उनीहरुले यस प्रकारको वकवासलाई अगाडी ल्याए। तिनीहरु के भनिरहेका छन? यसमा प्वाल भएको सवै कुरा योनी हो? त्यो हास्यास्पद छ।’ इराकमा जन्मिएका हदिद सन २०१२ को लन्डन ओलम्पिकको एक्वाटिक्स सेन्टर, इटालीको म्याक्सएक्सआई संग्रहालय र चीनको ग्वान्जाओ सहरको ओपरा हाउस निर्माणमा समेत संलग्न थिए। उनले थपिन्‚ ‘यदि कुनै मान्छेले यो परियोजना गरेको भए त्यहाँ त्यस्तो स्तर आलोचना हुने थिएन।’
कतारको राजधानी दोहाबाट करिब १२ माइलको दुरीमा रंगशाला निर्माण गरिएको छ। रेगिस्तानको गर्मीबाट मुक्त गराउनका लागि एसीसहितको निर्माण गरिएको छ। अल वक्राह रंगशाला निर्माणको क्रान्तिकारी कदम भएको जनाइएको छ। वातानुकूलन प्रविधिको प्रयोग गर्दै खेलाडी र दर्शकहरुको लागि तापक्रम ७२ डिग्री फरेनहाइटसम्म तल ल्याउन सकिने भनिएको छ। यो रंगशालामा १ सय भेन्टिलेसन इकाईको माध्यमबाट चिसो हावालाई पाइपबाट प्रवेश गराइने छ।
जसमा पिचलाई छाया प्रदान गर्नका लागि ९२ मिटरको छत निर्माण गरिएको छ। खाडीको तापमानबाट बच्नका लागि प्रतियोगितालाई जाडो सिजनमा सारिएको छ। जुन १० देखी १२ जुलाईसम्म आयोजना हुँदै आएको विश्वकप कतारमा २१ नोभेम्बर देखी १८ डिसेम्बरसम्म आयोजना हुँदैछ। जब विश्वकप समाप्त हुनेछ रंगशालाको माथिल्लो तह भत्काएर विकास भइरहेको देशमा पठाइनेछ।