बुटवल । लुम्बिनी टेलिभिजन बुटवलको आयोजनामा विहिबारदेखि एक्स्पर्ट मिडियाकप भलिबल प्रतियोगिता शुरु भएको छ । रुपन्देहीमा संचालित मिडिया हाउसहरुका विचमा भावनात्मक सम्बन्ध विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको भलिबल प्रतियोगिताको लुम्बिनी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लिला गिरिले उद्घाटन गरेका हुन्।
प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री गिरीले खेलकुदको विकासको लागि तिनैतहका सरकारले लगानी गरिरहेको बताए । उनले भलिबल खेल नेपाली भुगोल र माटो सुहाउंदो खेल भएको उल्लेख गर्दै मन्त्री गिरीले भलिबल खेलको विकास र सम्बद्र्धनका लागि प्रदेश सरकारले पनि लगानी गरिरहेको बताए ।
तिलोत्तमा २ योगिकुटीस्थीत मणिमुकुन्द भलिबल क्लबको खेल मैदानमा शु्रु भएको प्रतियोगिता शुभारम्भको अवसरमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष भरत केशी र महासंघका रुपन्देही अध्यक्ष अध्यक्ष यानेन्द्र जिसीले सधै समाचार संकलन र लेखनमा सक्रिय रहने पत्रकारहरुका विचमा हुने मैत्रीपूर्ण खेलहरुले पत्रकार र मिडियाहाउसहरुका विचको सम्बन्ध मजबुत बनाउन सघाउ पुग्ने बताए ।
टेलिभिजनका अध्यक्ष एजाज आलमले कहिलेकाहि हुने यस्ता खेलकुद कार्यक्रमले पत्रकारहरुलाई आफ्नो कार्यक्षेत्रमा लाग्न झनै उत्साह थप्ने बताए ।
टेलिभिजनका उपाध्यक्ष रामप्रसाद बस्यालको स्वागत तथा महासचिव दिनेश पाण्डेको संचालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । भोलिसम्म संचालन हुने प्रतियोगितामा रुपन्देहीका १३ वटा मिडियाहाउसका १३ वटा समुहको सहभागिता रहेको प्रतियोगिताका संयोजक बिकास पराजुलीले जानकारी दिए ।
विहिबार भएका खेलमा आयोजक लुम्बिनी टेलिभिजन, बुद्ध टेलिभिजन, साझा टेलिभिजन, राज्य टेलिभिजन, खस्यौली एफएम र जागरण एफएम विजयी हुंदै अघिल्लो चरणमा प्रवेश गरेका छन् । शुक्रवारको पहिलो खेल बुद्ध टेलिभिजन र खस्यौली एफएमका विचमा हुने खेल संयोजक पराजुलीले बताउनुभयो । एक्स्पर्ट एजुकेशन कन्सल्टेन्सी मुख्य प्रायोजक रहेको प्रतियोगितामा प्रथम हुने समुहले २५ हजार, द्धितियले १५ हजार र तृतियले ५ हजार नगद पुरस्कार सहित कप तथा मेडल प्राप्त गर्ने छन् । त्यस्तै सेमिफाईनलमा पुग्ने चारवटा टिमलाई जर्सि प्रदान गरिने छ भने खेल अवधीभर सबै खेलाडीहरुको दुर्घटना विमा समेत गरिएको संयोजक पराजुलीले बताए ।