बुटवल - दोस्रो तिलोत्तमा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कुंवरवर्ती इङलिस बोर्डिङ स्कूल प्रदीपनगर प्रथम भएको छ। कुंवरवर्तीले ९ स्वर्ण, २ कास्य र ३ रजत पदक सहित प्रथम भएको हो। तिलोत्तमा नगर खेलकुद विकास समितिको आयोजनामा फागुन १२ देखि १४ गतेसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा शान्ति नमूना माविले ६ स्वर्ण पदक जित्दै दोस्रो भएको छ भने ५ स्वर्ण पदकसहित सेन्ट जोसेफ बोर्डिङ स्कूल भलबारी तेस्रो भएको छ।
प्रतियोगितामा नगरभित्रका सरकारी १५ र संस्थागत १७ गरी ३२ विद्यालयका करिब ३ हजार छात्रछात्राले विभिन्न १७ विधामा प्रतिस्पर्धा गरेका नगर खेलकुद विकास समितिका सदस्य दीपक खनालले जानकारी दिए। रनिङ शिल्ड अन्तर्गत हुने प्रतियोगितामध्ये एथलेटिक्स तर्फका खेलको रेफ्री संयोजक मोहन घले,भलिबलको किसन चन्द र कबड्डीको दिनेश आचार्यले नेतृत्व गर्ने खनालले बताए।
रनिङ शिल्डमा विजयी विद्यालय र खेलाडीहरुलाई तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरीदेवी चौधरीले शिल्ड,मेडल तथा प्रमाणपत्र प्रदान गरेकी थिइन्। रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरुलाई जिल्लाभित्र हुने अन्तर पालिकास्तरीय खेल प्रतियोगितामा सहभागी गराइने छ। गत वर्षको रनिङ शिल्ड प्रतियोगितामा नवज्योति बोर्डिङ स्कूल चारनम्बर प्रथम भएको थियो।