बुटवल- बुटवलमा सम्पन्न चौंथो खुला लनटेनिस प्रतियोगिताको उपाधि रितिक राना र प्रेरणा कोइरालाले हात पारेका छन्। मंगलबार भएको पुरुष तर्फको फाईनलमा बुटवलका रितिक रानाले सन्तोष खत्रीलाई ६–३, ७–५ को सोझो सेटमा पराजित गर्दै उपाधि चुमेका हुन। यसैगरी महिला सिंगलको उपाधि प्रेरणा कोईरालाले जितेकी छन् । फाईनलमा अभिलाषा विष्टलाई ६–३, ६–१ को सेटमा जित निकाल्दै उनले उपाधि हात पारिन।
यसैगरि ३५ प्लसमा कमल भण्डारीले संन्जय प्रकाश श्रेष्ठलाई ६–२, ६–० को सेटमा पराजित गर्दै जित निकाले। बुटवलका श्रेष्ठ पहिलोपटक फाईनल पुगेका हुन। यसैगरि ४५ प्लसमा चन्द्र शाहि (यु एण्ड मि) ले धर्म लामिछानेलाई ६–४,६–३ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारे। ५५ प्लसतर्फ हिमाल शाहले मनोज राणालाई ६–७, ६–२, १०–२ को सेटमा जित निकाले।
विजेता तथा उपविजेताहरुलाई मंगलबार एक समारोहका बीच नेपाल टेनिस संघका केन्द्रीय अध्यक्ष ज्योति राणा, बुटवल ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्री खनाल, नेपाल टेनिस संघका केन्द्रीय उपाध्यक्ष राजु श्रेष्ठ, मन जयकार टेनिस एकेडेमीका अध्यक्ष मनोज राणा, प्रमुख प्रशिक्षक कृष्णराज घले, टिम नेपालका अजय विष्ट, कास्की टेनिस संघका उपाध्यक्ष लोक गुरुङले पुरस्कार वितरण गरेका छन्।
कार्यक्रममा लनटेनिसका प्रमुख प्रशिक्षक कृष्णराज घलेलाई सम्मान गरिएको थियो। नेपालका टेनिस खेलमा महत्त्वपूर्ण योगदान दिएका घलेलाई नगद १८ हजारसहित दोसल्लाबाट सम्मान गरिएको छ।