भैरहवा -रोटरी इन्टरनेश्नल डे को अवसरमा रुपन्देहीमा भएको खुल्ला हाफ म्याराथनको उपाधि भारतिय सेनाका अनिश थापाले जितेका छन्। बुटवल देखि भैरहवा २१ दशमलव १ किलोमिटर दुरीको खुल्ला हाफ म्याराथनमा थापाले एक घण्टा ६ मिनेट ३९ सेकेण्डमा दुरी तय गरी विजेता बनेका हुन। पर्वतका थापा हाल गोर्खा राइफल्समा कार्यरत छन, विदाको समयमा नेपाल आएका उनी हाप म्याराथनमा सहभागी भएका थिए।
यस्तै भारतीय सेना गोर्खा राईफल्समा कार्यरत पाँचथरका दिपक सुवाङ १ घण्टा, ८ मिनेट २५ सेकेण्डमा दौड पुरा गरी उपविजेता भएका छन्। १ घण्टा ९ मिनेट ९ सेकेण्डमा दुरी पार सशस्त्र प्रहरी बलमा कार्यरत कैलालीका किरण सिंह बोगटी तेस्रो भएका छन्। म्याराथनका विजेताले नगद १ लाख, उपविजेताले ७५ हजार, तेस्रो स्थान हासिल गर्नेले नगद ५० हजार रुपैया प्राप्त गरेका छन्।
यस्तै महिला तर्फ नेपाली सेना ५ नंम्बर बाहिनी कपिलवस्तुकी भावना शाहीले १ घण्टा ३८ मिनेट २५ सेकेण्डमा निर्धारित दुरी पूरा गरी विजेता बनेकी छन्। नेपाली सेना गोरखदल पाल्पाकी मिनिशा थापाले १ घण्टा ४२ मिनेट १८ सेकेण्डमा दुरी पार गर्दै उपविजेता र खुला रुपमा बर्दियाकी कल्पना थारुले १ घण्टा ४३ मिनेट ४ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भइन्। महिला तर्फका विजेतालाई नगद २० हजार उप विजेताले १५ हजार तथा तेस्रो स्थानमा आउनेलाई १० हजार रुपैयाले पुरस्कृत गरिएको थियो।
रोटरी क्लब अफ भैरहवाको आयोजना, मारुती फुडपार्क, काठमाण्डौ गेट प्रिमियर बासमती राईसको मुख्य प्रायोजन र नेपाल अम्बुजा सिमेन्टको सहप्रायोजनमा भएको म्याराथनमा इङलेण्डका एक जना खेलाडी सहित १ सय १६ जना धावकहरुको सहभागिता रहेको थियो । जस मध्ये ५ जना महिला सहभागी भएका थिए।
बुटवलको पुष्पलाल पार्कबाट शुरु भएको म्याराथन सिद्धार्थ राजमार्गको शंकरनगर, मणिग्राम, कोटिहवा, पडसरी, अंचलपुर, बुद्घचोक, बर्मेलीटोल, नारायणस्थान पथ हुँदै सानू डिपार्टमेन्टल स्टोर चोकमा समापन भएको थियो। प्रतियोगिताको उद्घाटन रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रविण पोखरेलले र समापन रोटरी ईन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ का डिष्ट्रिक्ट गभर्नर राजीव पोखरेलले गरेका थिए ।