बुटवल : लुम्बिनी प्रदेशका १७ वर्षमाथिका बास्केट बलका खेलाडीहरुलाई बुटवलमा तीन हप्ते प्रशिक्षण दिइएको छ । ‘क्लोज क्याम्प’ नाम दिइएको प्रतियोगितासहितको प्रशिक्षणमा प्रदेशका विभिन्न जिल्लाबाट ५६ जना खेलाडी र १७ जना प्रशिक्षक सहभागी भएका थिए ।
प्रतियोगितामा पुरुषतर्फ सचिन भण्डारी,अंकित सुनाम र सिमान्त थापा प्रथम, सौरभ मगर,नवीन थापा र निलेश थापा दोस्रो भएका छन् । महिलातर्फ पवित्रा खनाल,कृति थापा र इच्छा कार्की प्रथम तथा खुशी खांण,एभ्रिल गाहा, समीक्षा शेरचन र मिनाक्षी भण्डारी तेस्रो भएका छन् । यस्तै क्लोज क्याम्पमा महिलातर्फ विष्णु क्षेत्री र खुशी खांण तथा पुरुषतर्फ सौरभ श्रीस र कुमार थापा उत्कृष्ट खेलाडी घोषित हुँदै जनही २५ सय रुपैयांका दरले नगद पुरस्कार प्राप्त गरेका छन् ।
खेलाडीहरुलाई प्रमुख प्रशिक्षक दिनेश नकर्मी, सेनानी झपेन्द्र चौधरी, सम्राट भट्टचन लगायतका प्रशिक्षकले खेलका सैद्धान्तिक र प्राविधिक पक्ष सिकाएका थिए । क्लोज क्याम्प समापन समारोहमा नेपाल बास्केटबल संघका वरिष्ठ उपाध्यक्ष होम दोङले राज्यले खेलकुद क्षेत्रलाई अझै प्राथमिकतामा राख्न नसकेको उल्लेख गर्दै बास्केट बल खेललाई झनै उपेक्षा गरिएको बताए ।
नेपाल ओलम्पिक कमिटीका केन्द्रीय सदस्य दीर्घबहादुर केसीले सरकारको खेलकुद नीति अवैज्ञानिक रहेको भन्दै पर्याप्त खेलाडी भएको ठाउंमा पुर्वाधार बनाउनुपर्नेमा खेलाडी नै नभएका स्थानमा पुर्वाधार बनाएर बजेट दुरुपयोग भइरहेको गुनासो गरे ।
बुटवल देवीनगरस्थित एन्फा एकेडेमी आसपासको क्षेत्रलाई खेलकुद ग्राम बनाउन आफूहरुले गरेको प्रयासमा स्थानीय, प्रदेश र संघीय सरकारले साथ नदिएको उनले बताए । रुपन्देही बास्केट बल संघका अध्यक्ष मनिषकुमार ह्योंजूले रुपन्देहीमा बास्केटबल खेलप्रति युवा पुस्ताको आकर्षण भएपनि सरकारी स्तरको एउटा पनि कोर्ट नहुंदा नीजि क्षेत्रको कोर्ट भाडामा लिएर प्रशिक्षण र खेलहरु खेलाउनुपर्ने वाध्यता रहेको बताए ।
उनले संघको कार्यसमितिका पदाधिकारी र सदस्यले व्यक्तिगत खर्च र व्यवसायीसंग सहयोग मागेर खेल गतिविधि गर्नुपरेको बताए । क्लोज क्याम्प समापनमा एकहप्ते प्रशिक्षणमा सहभागी १७ जना प्रशिक्षकहरुलाई सम्मान गरिएको थियो ।
रुपन्देही बास्केटबल संघका अध्यक्ष मनिष ह्योंजूको अध्यक्षता,संघका सचिव रोहिन भण्डारीको सञ्चालन र बसन्त रानाको स्वागतमा सम्पन्न समापन समारोहमा नेपाल बास्केटबल संघका सचिव फणिन्द्रमान श्रेष्ठ र मणिमुकुन्द कलेजका प्रचार्य टुकबहादुर क्षेत्री रुपन्देही बास्केटबल संघले आफ्नै लगानीमा यो खेलको विकासमा पु¥याएको योगदान सराहनीय रहेको बताए ।