भैरहवा-सिद्धार्थनगर नगरपालिकाले निवदेन दर्ता नगरेको भन्दै सामुदायिक विद्यालयहरुले उप्रप्रमुख महिला कप बहिस्कार गरेका छन्। शुक्रबारदेखि भैरहवामा सुरु भएको सिद्धार्थनगर उपप्रमुख दोस्रो महिला कप २०७७ प्रतियोगिता सुरु भएको छ।
नगरपालिकाको आयोजनामा हुने प्रतियोगिताको व्यवस्थापनको जिम्मा निजी विद्यालयहरुको समूह सामुहिक विद्यालय परिवारले पाएको थियो।
नगरपालिकाको प्रस्तावमा एक प्रकारको टेण्डर (ठेक्का) मार्फत प्रतियोगिता संचालनको जिम्मा पाएको सामुहिक विद्यालय परिवारले सहभागिताका तिन नीजि विद्यालयमा गएर खेलाडीको नाम सहित निवेदन बुझाउनु पर्ने प्रावधान बनाएपछि सामुदायिक विद्यालयहरु खेलबाट पछि हटेका हुन। नगरपालिकाको निर्णय र विद्यालयको बहिस्कारका कारण सामुदायिक विद्यालयका छात्राहरु प्रतियोगिता खेल्नबाट बञ्चित भएका छन्।
नगरपालिकाले प्रतियोगिता आयोजना गरेर आफ्नो जिम्मेवारीबाट भाग्ने काम गर्दा सामुदायिक विद्यालयको मानमर्दन भएको भन्दै सिद्धार्थनगरमा रहेका १७ वटा सामुदायिक विद्यालयले प्रतियोगिता बहिष्कार गरेका हुन्। प्रतियोगिता संचालनको जिम्मा सामुहिक विद्यालय परिवारलाई दिइए पनि खेलाडीको नाम दर्ता लगायतका प्रक्रिया नगरपालिकाबाटै हुनु पर्ने सरकारी विद्यालयहरुले माग गरेका थिए।
“हामी सहभागिताका लागि खेलाडी छात्राहरुको नाम सहित नगरपालिका गएका थियौं तर नाम दर्ता गर्नका लागि आदर्श विद्या मन्दिर, नेपाल नालान्दा हाई स्कुल र युनिभर्षल पब्लिक स्कुलमा जान भनिएपछि हाम्रो विद्यालयलाई उपेक्षा गरिएको महसुस भयो।’’ भानु माविका प्राचार्य मोतिलाल सुवेदीले भने ‘‘यो सामुदायिक विद्यालय कै मानमर्दन हो भन्ने लागेर प्रतियोगितामा सहभागिता जनाएनौ।”
सिद्धार्थ नगर नगरपािलकाले नीजि विद्यालयलाई महत्व दिएर सामुदायिक विद्यालयको अस्तित्व नस्वीकारेको सामुदायिक विद्यालयका प्राचार्यहरुले गुनासो गरेका छन् । अन्य गतिविधिमा समेत सामुदायिक विद्यालयलाई हेलाको दृष्टीले व्यवहार गरिने उनीहरुको आरोप छ ।
संघिय प्रहरी ईकाई कार्यालय शान्तिनगरमा संचालन भएको प्रतियोगितामा २७ नीजि विद्यालयको सहभागिता रहेको छ। यता नगरपालिका शिक्षा शाखा प्रमुख चेतनशिल लम्सालले भने राष्ट्रपति रनिङ्ग शिल्डमा व्यस्त भएका कारण यताको ध्यान दिन नसकिएको प्रतिक्रिया दिए। सामाुदायिक विद्यालयका विद्यार्थीहरुको खेल क्षेत्रमा अब्बल मान्निछन, केही दिन अगाडि मात्र सम्पन्न भएको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा पनि सामुदायिक विद्यालय लिलाराम न्यौपाने माविले रनिङ शिल्ड हात पारेको थियो।
विद्यालयका साना भाइबहिनीहरुको सहभागिता होस भन्ने उद्देश्यले २ समूहमा बर्गिकरण गरी एथलेटिक्स एव कक्षा १० सम्मका छात्राहरुका लागि भलिबल र बकृत्वकला प्रतियोगिता यस वर्ष उपप्रमुख महिला कपमा समावेश गरिएको छ।
सामूदायिक विद्यालयका विद्यार्थी खेलमा अब्बल मानिन्छन तर सामुदायिक विद्यालयका थुप्रै छात्राहरुले प्रतियोगितामा सहभागी हुन पाएनन्।