बुटवल– रुपन्देहीको कर्मडाडामा जारी खड्ग प्रसाद गौचन यु–१६ क्रिकेट प्रतियोगितामा बुटवल बुमर्स विजयी भएको छ ।
स्टार क्रिकेट एकेडेमीको आयोजनामा पडसरीस्थित कर्मडाडा खेलमैदान बुधबार भएको दोस्रो खेलमा भैरहवा ह्वाईट हक्सलाई ४५ रनले पराजित गर्दै बुटवल बुमर्स विजयी भएको हो । नेपालका अन्तराष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनले स्वर्गिय बुबाको स्मृतिमा क्रिकेट प्रतियोगिता गरेका हुन ।
खेलमा टस जितेर ब्याटिङ रोज्दै बुटवलका ब्याट्सम्यानहरुले २६ ओभरमा पुरै विकेटको नोक्सानीमा १ सय ४४ रन जोडेका थिए । उसका लागि प्रकाश गिरीले ३७ बलमा ४९ रन र पारस भण्डारीले २१ बलमा १३ रनको योगदान दिएका थिए । भैरहवाका तुसार चौहानले ४, सन्देश सुनारले ३ तथा नितिन छन्त्याले २ विकेट लिएका थिए ।
मध्यम लक्ष्यलाई पछ्याएको भैरहवाका ब्याट्सम्यानहरुले २४ ओभरमा केवल एक सय रनमा समेटिएका थिए । उसका लागि सहजाद आलमले ४७ बलमा ३६ रन तथा नितिन छन्त्यालले २५ बलमा १८ रन बाहेक अन्य ब्याट्सम्यानहरुले दोहोरो रन जोड्न सकेनन । कम स्कोरमा रोक्न बुटवलका युवराज बिकले ४ तथा प्रकाश गिरीले ३ विकेट लिएका थिए । खेलमा बुटवलका प्रकाश गिरी म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
रुपन्देहीमा युवा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित ५० ओभरको एक दिवसिय खेल खेलाईएको शक्ति गौचनले बताए । एकेडेमीमार्फत रुपन्देही जिल्लाका १ सय ७० जना खेलाडीहरुबाट ७५ जना उत्कृष्ट खेलाडी छनौट गरि टिम तयार भएको उनले बताए ।
प्रतियोगितामा लुम्बिनी लायन्स, पडसरी प्यान्थर, भैरहवा ह्वाईट हक्स, बुटवल बुमर्स, देवदह ड्रेगन गरि पाच टिमले एक आपसमा ४ वटा खेल खेल्ने छन भने सबैभन्दा बढी खेलमा जित निकाल्न सफल टिमले उपाधि हात पार्ने छ । विहिबार दुई वटा खेलहरु हुने छन ।