भैरहवा । दोस्रो फ्यूचरलाइट खुला भलिबल कप प्रतियोगिता भैरहवामा आजदेखि सुरु हुँदै छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ फ्यूचरलाइट भलिबल क्लबको आयोजनामा दुई दिने जुनियर खुल्ला स्तरीय प्रतियोगिता हुने भएको हो ।
रुपन्देहीको मायादेवी–८ स्थित फ्यूचर लाइट स्कूल प्राङ्गणमा फ्यूचर लाइट हाई स्कूलको प्रायोजनमा हुन गइरहेको प्रतियोगितामा रुपन्देही जिल्लाका १४ वटा टिमको सहभागिता रहने आयोजक क्लबका उपाध्यक्ष तथा कार्यक्रमको संयोजक इन्जिनियर सरोज सुनारले जानकारी दिए ।
भलिबल खेलाडीको प्रतिभालाई प्रस्फुटन गर्दै खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ स्थापित क्लबले गत वर्षबाट प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगिताको माध्यमबाट खेलाडी, प्रशिक्षक र रेफ्री उत्पादन गरी विद्यालयस्तरीय र स्थानीय तहसम्म भलिबल राष्ट्रिय खेल भन्ने सन्देश दिनका लागि प्रशिक्षण केन्द्र समेत स्थापना गर्ने लक्ष्यका साथ काम गरेको क्लबका अध्यक्ष अस्मित लामगादेले जानकारी दिए ।
नक आउट आधारमा प्रतियोगिता हुने प्रतियोगिताका सबै खेल बेष्ट अफ ३ मा र फाइनल खेल बेष्ट अफ ५मा खेलाइने छ । राष्ट्रिय खेलाडी बाहेकका खेलाडीहरु सहभागी हुने पाउने यस प्रतियोगितामा स्कुल र क्लबबाट ७– ७ टिमको सहभागिता रहेको क्लबका संरक्षक गम्भिर गुरुङले जानकारी दिए । सामुहिक विद्यालय परिवारले आयोजना गर्ने प्रतियोगितामा विद्यालय स्तरका खेलाडीमा दक्षता हासिल भए पनि त्यसभन्दा मथिल्लो स्तरमा खेलाडी उत्पादन नहुने भएकोले खुल्ला स्तरीय प्रतियोगिता गत वर्षबाट क्लब मार्फत आयोजना गर्दै आएको संरक्षक गुरुङले भने ।
बिद्यालय परिसरमै आयोजना हुने प्रतियोगिताको विजेताले २५ हजार र उपविजेताले १५ हजार, तृतीय हुनेलाई १० हजार ट्रफी र प्रमाण पत्र पुरस्कार स्वरुप पाउने छन । प्रतियोगितामा बेस्ट खेलाडीलाई १५ सय नगदबाट पुरस्कृत गरिने जनाईएको छ ।
भलिबल खेलकै प्रबद्र्धन र विकाश गर्न भन्दै बिद्यालय स्तरको प्रयासमा गठन भएको यो नेपालकै पहिलो सस्था हो ।