भरतपुर : दोस्रो संस्करणको चितवन प्रिमियर लिग (सिपिएल) टि–२० क्रिकेट प्रतियोगिता आउँदो मङ्सिर महीनामा हुने भएको छ ।
सिपिएल आयोजकले विज्ञप्ति जारी गर्दै आउँदो मङ्सिर (डिसेम्बर) महीनामा प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको हो । प्रतियोगिताको पहिलो संस्करण गत माघ महीनामा भएको थियो । यसपटक विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण केही ढिलाइ हुन पुगेको हो ।
सिपिएलका संस्थापक तथा प्रबन्ध निर्देशक राजु चौधरीका अनुसार यसपटक प्रतियोगिता भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । पहिलो संस्करण नारायणगढस्थित क्याम्पाचौरमा सञ्चालन भएको थियो । दोस्रो संस्करणलाई अझै व्यवस्थित र भव्य बनाउने प्रयास भइरहेको प्रबन्ध निर्देशक चौधरीले जानकारी दिए ।
पहिलो संस्करणमा प्रत्येक टिममा तीन राष्ट्रिय खेलाडी अनिवार्य गरिएको थियो । आउने संस्करणमा राष्ट्रिय खेलाडीको सङ्ख्या बढाउने योजनामा आयोजक रहेको छ । चितवन क्रिकेट सङ्घको सहकार्यमा नारायणी एड्भटाइजिङ एण्ड इभेन्ट्स प्रालिको आयोजनामा हुने यस प्रतियोगितामा पाँच वटा टोली रहेका छन् । यस प्रतियोगिताको पहिलो संस्करणको उपाधि राप्ती ¥यापिड्सले उचालेको थियो ।
प्रदेशस्तरीय भलिबल प्रतियोगिता शुरु
दमौलीः तनहुँको शुक्लागण्डकी नगरपालिकाको आयोजनामा आजदेखि शुरु प्रथम मेयर कप प्रदेशस्तरीय भलिबल प्रतियोगितामा मादी गाउँपालिकाले विजय शुरुवात गरेको छ । शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीस्थित गाउँफर्कोदय माध्यमिक विद्यालयको खेल मैदानमा भएको पहिलो खेलमा आयोजक शुक्लागण्डकी नगरपालिका (बि) लाई पराजित गर्दै मादी गाउँपालिकाले विजय शुरुवात गरेको हो । मादीले शुक्लागण्डकी (बि)लाई २५–१७ र २५–१७ को सोझो सेटले हराएको हो ।
खेलाडीलाई खेलतर्फ आकर्षित गराउन र राष्ट्रका लागि दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यसहित गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितामा १५ पालिकाको सहभागिता छ । प्रतियोगितामा स्याङ्जाको पुतलीबजार नगरपालिका, कालीगण्डकी नगरपालिका, हरिनाश गाउँपालिका, कास्कीको पोखरा महानगरपालिका, मादी गाउँपालिका, बागलुङको गलकोट नगरपालिका, तनहुँको ऋषिङ गाउँपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका, देवघाट गाउँपालिका, घिरिङ गाउँपालिका, व्यास नगरपालिका र नवलपुरको बौदीकालिका गाउँपालिकाको सहभागिता रहेको प्रतियोगिता व्यवस्थापन समितिका संयोजक दीर्घबहादुर थापाले जानकारी दिए ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः रु एक लाख ५० हजार, रु एक लाख, रु ५० हजार र रु २५ हजार नगदका साथै शिल्ड र कप प्रदान गरिनेछ । उत्कृष्ट खेलाडीलाई रु १० हजार प्रदान गरिने प्रतियोगितामा उत्कृष्ट स्पाइकर, उत्कष्ट ब्लकर, उत्कृष्ट डिफेन्डरलाई पनि रु पाँच÷पाँच हजार नगद पुरस्कार प्रदान गरिनेछ ।
गौतम बुद्ध क्रिकेट रङ्गशाला निर्माण अभियान कञ्चनपुरमा
कञ्चनपुर– जनस्तरबाट चितवनको भरतपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानका लागि धुर्मुस सुन्तली फाउण्डेशनको टोलीले कञ्चनपुरमा आर्थिक सहयोग जुटाउने कार्य गरिरहेको छ ।
फाउन्डेसनका सञ्चालक सिताराम कट्टेल(धुर्मुस) लगायतको टोलीले दुई दिनअघिदेखि दोधारा–चाँदनी नगरपालिकाबाट शुरुवात गरेको अभियानमा जनस्तरबाट, स्थानीय तह, सङ्घसंस्था, सरकारी कार्यालयलगायतबाट सहयोग रकम सङ्कलनको कार्य उत्साहजनकरुपमा अगाडि बढेको छ ।
सबै क्षेत्रबाट अभियानलाई सहयोग भइरहेको छ । जनस्तरबाट स्वस्फूर्तरुपमा सहयोग रकम उपलब्ध गराउने कार्य भइरहेको छ । स्थानीय तहमा अभियानबारे फाउन्डेसनका सञ्चालक सीताराम कट्टेलले जानकारी गराउने कार्य गरिरहेका छन् । स्थानीय तहका जनप्रतिनिधिले अभियानमा साथ र सहयोग दिने प्रतिबद्धतासमेत गरेका छन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि आर्थिक अभाव भएका कारण अर्थ सङ्कलनका लागि मेची–महाकाली अभियान सञ्चालन गरिएको फाउन्डेसनका सञ्चलक कट्टेलले बताए । “गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको अभियानमा छौँ । यो नितान्त राष्ट्रको अभियान हो”, उनले भने, “यस अभियानलाई पूरा गर्न सबैको सहयोग र साथ चाहिएको छ ।”
रङ्गशाला निर्माणको कार्यलाई निरन्तरता दिनका लागि आइपुगेको उनले बताए । उनका अनुसार रङ्गशालाभित्र ७७ वटै जिल्लाका कोठा रहने छन । रङ्गशाला निर्माता कट्टेलले रङ्गशाला खेल्ने र हेर्ने मात्र नभई अध्ययन गर्ने ठाउँका रुपमा समेत विकास गरिने बताए ।
सिङ्गो देशको रङ्गशाला बनोस भन्नका लागि अभियानलाई निरन्तरता दिँदै आएको छ । “रङ्गशाला निर्माणका लागि रु ४३ करोड खर्च भइसकेको छ”, उनले भने, “रु १३ करोडजति उधारोमा काम गरेका छौँ ।” उनका अनुसार रङ्गशाला निर्माणको ३० प्रतिशत काम सम्पन्न भएको छ ।
अन्तर्राष्ट्रिय खेल मैदानको ८५ प्रतिशत काम पूरा भएको छ । आउँदो वैशाखमा ३० हजार दर्शकले हेर्न मिल्ने गरी पहिलो चरणको प्याराफिट तयार हुनेछ । विसं २०७५ माघ १६ गते भरतपुर महानगरपालिका र फाउन्डेसनबीच गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि सम्झौता भएको थियो ।
अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि रु तीन अर्ब ५५ करोड खर्च लाग्ने लागत अनुमान गरिएको छ । रङ्गशालामा ३० हजार दर्शक अट्ने र १० हजार सवारी साधन पार्किङ गर्ने सुविधा हुनेछ । बाहिर निष्कने चार द्वार निर्माण गरिने छ । रासस